गुजरातमाथि लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनलमा

गुजरातमाथि लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनलमा

केन्द्रबिन्दु
196
Shares

नेपालले एमएमएस फ्रेन्डसिप कपअन्तर्गत भारतको स्टेट क्लब गुजरात क्रिकेट एसोसियसनमाथि लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले गुजरातमाथि ८ रनको जित दर्ता गरेको हो ।

वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ मैदानमा नेपालले जितका लागि दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनमै समेटियो । लिगमा यो नेपालको लगातार तेस्रो जित हो । योसँगै नेपाल फाइनलमा पनि पुगेको छ ।

नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनाएको थियो ।

नेपालका सुरुआत उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । सुरुआत राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके । पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे ।

तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई मात्रै बनाए । कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए । अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे ।

गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ र ध्रुशान्त सोनीले दुई/दुई विकेट लिए ।

Logo