एसिसी प्रिमियर कपमा नेपालकाे विजयी सुरुवात, मलेसिया स्तब्ध

एसिसी प्रिमियर कपमा नेपालकाे विजयी सुरुवात, मलेसिया स्तब्ध

केन्द्रबिन्दु
182
Shares

नेपालले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित दर्ता गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि ओपनर आशिफ शेखले ३२ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले २८ रन, कुशल भुर्तेलले २४ रन, दीपेन्द्रसिंह ऐरीले २० रन जोडे । गुलसन झाले ठबलमा १९ रन जोडे ।

टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनायो । मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए ।

अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ।

Logo