एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, दीपेन्द्रको कीर्तिमान

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, दीपेन्द्रको कीर्तिमान

केन्द्रबिन्दु
126
Shares

अलराउण्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानमा नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा नेपालले कतारमाथि ३३ रनको सानदार जित निकालेको हो ।

अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटिएको हो । कतार का लागि कप्तान मुहम्मद तानविरले विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेले । उनले ३३ बलमै ६३ रन प्रहार गरे । त्यसपछि अन्य खेलाडीको प्रदर्शन भने राम्रो रहेन । मोहम्मद अनहाफले २३ रन, हिमांशु राठोडले २२ रन तथा एड्मान मिर्जाले १९ रन जोडे ।

बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे ।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच÷पाँच रनको योगदान दिए ।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

Logo