बार्सिलोना,
युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन् । मेसीले छैठौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन् । युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ । मेसीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन् ।
मेसीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । मेसीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् । एमबाप्पे मेसीसँग तीन गोलले पछि परेका थिए ।
शुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो । यस खेलमा एमबाप्पेले एक गोल मात्र गरेका थिए ।
एमबाप्पेको एक गोल गोल्डेन बुटका लागि पर्याप्त भएन । यद्यपि एमबाप्पेलाई अन्तिम खेलमा मेसीलाई पछि पार्ने ठूलो अवसर थियो । स्पेनिस ला लिगाबाट मेसीले लगातार तेस्रो र समग्रमा छैठौं पटक गोल्डेन बुट हात पारेसँगै ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको यो ११ औं पटक हो ।
एजेन्सी





























प्रतिक्रिया