काठमाडौँ । काभा वुमन्स नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । मंगलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर नेपाल फाइनलमा प्रवेश गरेको हो । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलमा नेपालले जित निकालेको हो । यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।
नेपालले बुधबार फाइनलमा भारतसँग खेल्ने भएको छ । शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो ।
मङ्गलबार भएको इरानसँगको खेलमा नेपालले उच्च मनोबलका साथ खेलेर सोझो सेटमा खेल जिते पनि खेल प्रतिस्पर्धात्मक थियो । नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरेकी छिन् ।
नेपालका प्रशिक्षक जगदीश भट्टले इरानी टिमको कमजोरी केलाएर खेलाडीको क्षमता र आत्मविश्वासले इरानसँग सोझो सेटमा जित्न सफल भएको बताएका छन् । भारतविरुद्धको फाइनलमा पनि रणनीति तयार पारेर उपाधि जित्ने उनले बताए ।
भारतले मङ्गलबार श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ ।





























प्रतिक्रिया