काठमाडौँ । पिनाकल एकेडेमीले एईसीसी प्रथम अन्तर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले ४ रनले जीत निकालेको हो । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गरेको हो ।
पिनाकलले दिएको ९९ रनको लक्ष्य पछ्याएको हिमालयन व्हाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । हिमालयन व्हाइट हाउसका लागि नितिश मोक्तानले सर्वाधिक ३८ रन बनाए । यस्तै, मोहम्मद रियाजले १८ रन बनाए ।
पिनाकलका अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । थापा प्लेयर अफ द फाइनल समेत घोषित भएका थिए । उनले ३ ओभरमा २२ रन खर्चिएका थिए । यस्तै अपराजित पौडेलले २ विकेट लिए ।
टस जितेर ब्याटिंग गरेको पिनाकलले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा ९८ रन बनाएको थियो । पिनाकलका लागि अभिषेक थापाले सर्वाधिक २४ ,संदेश खड्काले १८, हिमाल बिस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाए । व्हाइट हाउसका जीवन कार्कीले २ विकेट लिएका थिए ।
जीतसँगै पिनाकल कलेजले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी पिनाकल एकेडेमीका अभिषेक थापा घोषित भए । यस्तै उत्कृस्ट ब्याट्सम्यानमा शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कृस्ट बलर पिनाकल एकेडेमीका अभिषेक थापा, यस्तै उत्कृस्ट फिल्डर हिमालयन व्हाइट हाउसका नितिश मोक्तान घोषित भए । विजेता खेलाडीहरूले मुख्य प्रायोजक एईसीसी, क्यालीबर सुज, गोपाला फ्रेसोको तर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा सर्टिफिकेट पाएका छन् ।
खेलाडीहरूलाई नेपाल विद्यार्थी संघ काठमाडौँका अध्यक्ष मनिष डंगोल, ईस्पोर्ट्स एसोसीएसन नेपालका सचिव अधिराज रेग्मी, नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिना तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगिता ४ दिनसम्म चलेको थियो । जसमा ३२ वटा टिमहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया