भारतमा प्रतिबन्धित माछा नेपालमा छ्याप छ्याप्ती

भारतमा प्रतिबन्धित माछा नेपालमा छ्याप छ्याप्ती


नेपालगन्ज

भारतमा प्रतिबन्धित माछा नेपालमा आयात हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगन्जका बजारमा छ्यापछ्याप्ती भेटिन्छन् ।

भारतबाट आयात हुने माछा नेपालगन्ज पुग्न छिटोमा पनि एक हप्ता लाग्छ । कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन ( लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल) सहितको माछा आन्धप्रदेशबाट ६ दिनदेखि ८ दिनभित्र नेपालगन्ज आउँछ’, नेपालगन्जको हिमालय अर्डर एन्ड सप्लायर्सका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’

नेपालगन्जमा उनी जस्तै झन्डै आधा दर्जन थोक माछा सप्लायर्स छन् । ‘अरूले चोरेर पनि ल्याउँछन् । म त लटरपटर जान्दिनँ । भन्सार तिरेर मात्र ल्याउँछु । फर्मलिन सर्मलिन के हालेको हुन्छ, हामीलाई केही थाहा हुँदैन’, उनले भने ।

गत जनवरी १४–२९ सम्म भारतको बिहारको राजधानी पटनामा आन्ध्रप्रदेशका माछामाथि प्रतिबन्ध लगाइयो । आन्ध्रप्रदेशबाट आउने माछाका ८७ वटा नमुना जाँच्दा २५ वटामा फर्मलिन राखिएको पुष्टि भयो । त्यसपछि त्यहाँ १५ दिन माछा आयातमा प्रतिबन्ध लाग्यो । बिक्री बन्द भयो । तर यही १५ दिनको अवधि ( ३० पुस १५ माघ २०७५) मा नेपालमा २६ हजार ७० किलो अर्थात् ४५ लाख १४ हजार ४ सय २२ रुपैयाँ बराबरको माछा नेपालगन्ज भन्सार कार्यालय हुँदै भित्रिएको प्रमुख शान्तिराम निरौलाले जानकारी दिए ।

चालू आवको फागुन मसान्तसम्म भने भारतबाट दुई लाख ७७ हजार ८ सय ६० किलो मात्र नेपाल आयात गरिएको भन्सार कार्यालयको तथ्यांक छ । आयातित माछाको मूल्य झन्डै पाँच करोड रुपैयाँ हुन आउँछ ।
अन्नपूर्णबाट

Logo