काठमाडौं । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाललाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । अजितकुमार यादवले नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् ।
आइतबार हङकङमा भएको तीन हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन् । उनले यसअघि व्यक्तिगत रुपमा ८ मिनेट ४४ सेकेण्डमा उक्त दुरी पार गरेका थिए ।
यादव एसियन युथ एथ्लेटिक्समा भारतीय खेलाडीले बनाएको कीर्तिमान भन्दा ४ सेकेण्डले पछि रहे । २०१५ को एसियन युथ एथ्लेटिक्समा भारतका किसन नास्रीले बनाएको ८ मिनेट २६.२४ सेकेण्ड नै रेकर्ड रहेको छ ।
नेपाल एपीएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कांस्य पदक जिते ।
एसियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलंका, उज्वेकिस्तान, इन्डोनेसिया, ओमन, भुटान, जोर्डन, किर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडीहरु सहभागी छन् ।





























प्रतिक्रिया