काठमाडाैं । सर्वकालीन महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अब मैदानमा मात्र राज गर्दैनन्, सामाजिक सञ्जालमा पनि राज गर्छन् । यो तथ्यलाई उनको हालै बनेको नयाँ दुर्लभ रेकर्डले पुष्टि गरेको छ । रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।
३९ वर्षिय पोर्चुगिज सुपरस्टार रोनाल्डोले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युबमा गरी एक अर्ब बढी फलोअर्स पाएका हुन् । रोनाल्डोले हालै आफ्नो युट्युब च्यानल पनि सार्वजनिक गरेका थिए । युआर डट क्रिष्टियानो नामक उक्त च्यानल बनाएको केही समयमै विभिन्न रेकर्ड तोडिने र बन्ने क्रमले विश्व समुदायमा हलचल नै मच्चायो । उनले कीर्तिमानी सङ्ख्यामा सब्सक्राइबर पाए । एक महिना नबित्दै उनको च्यानलमा ६० मिलियन बढीले सब्सक्राइब गरिसकेका छन् । यो छोटो समयमा यति धेरै सब्सक्राइबर पाउने एकमात्र युट्युब च्यानल हो ।
रोनाल्डो सबैभन्दा बढी इन्स्टाग्राममा सक्रिय छन् । उनलाई ६३८ मिलियनले पछ्याएका छन् । यो कुनै पनि व्यक्तिले पाएको सबैभन्दा बढी फलोअर्स हो । यति मात्र होइन, फेसबुकमा १७० मिलियन, एक्समा ११२ मिलियन फलोअर्ससहित सामाजिक सञ्जालमा एकछत्र राज गर्न रोनाल्डो सक्षम छन् भन्दा फरक पर्दैन ।
चिनियाँ शर्ट भिडिओ प्लेटफर्म ‘क्वाइस्चो’ मा समेत रोनाल्डो जोडिएका छन्, जसमा उनलाई ९३ लाख ७२ हजार बढीले फलो गरेका छन् । चीनकै सामाजिक सञ्जाल विबोमा पनि रोनाल्डोको अकाउन्ट छ । उक्त प्लेटफर्ममा उनका फलोअर ७५ लाख ३० हजार बढी छन् ।
सञ्जाल सञ्जाललाई मिलाएर आफ्नो फलोअर्सको सङ्ख्या एक अर्ब पुगेकोमा रोनाल्डोले समर्थकहरूमा खुशी साट्दै भावुक बनेका छन् । ‘हामीले इतिहास रचेका छौँ । एक अर्ब फलोअर्स १ यो एक सँख्यामात्र होइन । त्योभन्दा निकै बढी हो । यो खेलप्रतिको हाम्रो प्रेम र त्योभन्दा पनि बढी हाम्रो साझा आशक्तिको पराकाष्ठा हो, उनले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।
आफ्नो जन्मस्थान पोर्चुगलस्थित मदेइराको गल्लीदेखि विश्वको सबैभन्दा उत्कृष्ट मैदानसम्म हरेक क्षण आफ्नो परिवार र समर्थकका लागि खेलेको स्मरण गर्दै उनले अहिले हाम्रो परिवारको सङ्ख्या एक अर्ब पुगेको भन्दै खुशी साटेका हुन् । ‘मेरो हरेक सफलता र निराशामा तपाईंहरूले मलाई साथ दिनुभएको छ । त्यसैले यो मेरोमात्र होइन हामी सबैको सामुहिक यात्रा हो । आफूले चाहेको हरेक लक्ष्य चुम्न सक्षम छौँ भन्ने कुरा पनि यतिबेला हामीले प्रमाणित गरेर देखाएका छौँ” उनले भनेका छन् ।
हुन त रोनाल्डोलाई सामाजिक सञ्जालमा यसरी पछ्याउनुको राज उनको जादूमयी खेल नै हो । दुई दशकभन्दा बढी विश्व फुटबलमा राज गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सन् २००३ मा काजाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । डेब्यु गरेको अर्को वर्ष अर्थात सन् २००४ को युरोकपमा ग्रिसविरुद्ध पहिलो गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकै सर्वाधिक उच्च गोलकर्ता पनि हुन् ।
उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म १३२ गोल गरेका छन्। उनको यो रेकर्डको छेउछाउ कोही पनि पुग्न सकेका छैनन् । हालै मात्र उनले नेसन्स कपअन्तर्गत स्कटल्यान्डविरुद्ध निर्णायक गोल गरेर ४८ भिन्न–भिन्न राष्ट्रविरुद्ध गोल गर्ने एकमात्र र पहिलो खेलाडी बनेका थिए । त्यति मात्र होइन, ५ महिनापछि ४० वर्ष पुग्ने तयारीमा रहेका कप्तान रोनाल्डोले ९०० सय गोलको कोशेंढुङ्गा पनि पार गरिसकेका छन् । उनी देशमा मात्र होइन क्लब फुटबलमा पनि एकछत्र राज गर्न सफल छन् । स्पेनिश महारथी क्लब रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटायिलन क्लब युभेन्टसमा तहल्का पिटिसकेका रोनाल्डो यतिबेला साउदी क्लब अल नासरमा छन्। उनले त्यहाँ दुई सिजन विताइसकेका छन् ।































प्रतिक्रिया