अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेलमा चीनले टस जितेर फिल्डिङ् रोजेपछि नेपालले ब्याटिङ्ग शुरु गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।
नेपालका लागि काजल श्रेष्ठले १८,सिता राना मगरले ११,इन्दु बर्माले ८,बिन्दु रावलले १०,रुबिना क्षेत्रीले ५,अप्सरी बेगमले ३,सरिता मगरले ६, कविता कुँवरले ३ र नारी थापाले नट आउट ७ र करुणा भण्डारीले कुनै खाता खोल्न सकिनन् ।
थाइल्यान्डको बैंककमा भएको खेलमा आज नेपालले आफ्नो पाँचौ खेल खेलिरहेको छ । आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै रहनेछ ।
चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अङ्क तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ ।
चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै छ अङ्क बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै छ अङ्क नै छ । रन रेटका आधारमा नेपाल चीनभन्दा एक स्थान तल छ ।
अङ्क तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहेको छ । उसले खेलेका सबै चार खेलमा जित निकाल्दै आठ अङ्क जोडेको हो । त्यसैगरी पाँच खेल खेलेको यूएई एकमा हार तथा चारमा जित निकाल्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
जारी प्रतियोगितामा नेपाल ग्लोबल छनोटमा पुग्न आजको खेल तथा कुबेतसँग १५ गते हुने खेल जितेर मात्र हुँदैन थाइल्याण्डले एक खेल समेत हार्नुपर्ने हुन्छ । त्यसैले गणितीयरूपमा मात्र नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । छनोट खेलमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।





























प्रतिक्रिया