एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरू सहभागी हुने

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरू सहभागी हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । स्पेनको भ्यालेन्सियामा यही अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरू सहभागी हुने भएका छन् ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए)को आयोजनामा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगिताअन्तर्गत दर्जनौँ विधामा हुने सो गेम्समा दुई विधामा तीन नेपाली ड्राइभरले सहभागिता जनाउने छन् ।

ई–स्पोर्ट्स जीटी विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्णप्रसाद पौडेल र प्रज्ञा कँडेलले अटो स्लालममा प्रतिस्पर्धा गर्ने छन् । सुरुवातमा कार्ट्स ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम–रेसिङका उत्कृष्टमध्येका ड्राइभर हुन् भने कृष्णप्रसाद पौडेल एशिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपका प्रतिस्पर्धी र एथलेट कमिसनका संयोजक समेत हुन् ।

त्यसैगरी बैंक अफिसर रहेकी प्रज्ञा नेसनल अटोक्रसकी सफल प्रतिस्पर्धी तथा मोटर स्पोर्ट्स लाइसेन्स होल्डर ड्राइभर हुन् । नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा यसअघिको संस्करणमा फ्रान्सको ट्रयाकबाटै रिर्पोटिङ गरेका टीकाराम यात्री मिडिया डेलिगेटको रूपमा उपस्थित हुनेछन् ।

देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटर स्पोर्ट्सको प्रवर्द्धन र प्रमोसनमा तथा विश्वस्तरिय ड्राइभरहरू तयार गर्न यस किसिमको अन्तर्राष्ट्रिय सहभागिता र टिमले थप मद्दत पुग्नेछ । अघिल्लो संस्करण २०२२ का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटरस्पोर्ट्सले गर्व महसुस गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धिहरूसँग प्रतिस्पर्धा गर्न खेलाडीहरू उत्सुक भएको बताएका छन् ।

सो गेम्सका लागि नेपाली टिम समर्पित रहेका र उनीहरूले क्षमतामा रामो प्रदर्शन गर्ने एसोसिएसनका अध्यक्ष रिसालले विश्वास गरेका छन् । यो केवल प्रतिस्पर्धा मात्र नभएर नेपालको बढ्दो मोटर स्पोर्ट्स संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि रहेको अध्यक्ष रिसालले बताए ।

केही वर्षअघिदेखि मात्रै सुरु यस विश्व प्रतिस्पार्धासँगै एसिया संस्करण एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिप, एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिप, ओलम्पिक ई–स्पोर्ट्स सिरिज समेतमा नेपाली टिम नियमित सहभागी भइरहेको छ ।

Logo