हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारका रूपमा रहनेछ । प्रायोजन रकमबारे भने केही खुलाइएको छैन । जनकपुर बोल्ट्सका खेलाडी अनिल साह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । अनिल र शुभ दुबैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन् ।
यस्तै म्यानेजमेन्टले अनिल साहलाई आफ्नो ब्राण्ड एम्बेसेडर समेत नियुक्त गरेको छ । प्रायोजनसम्बन्धी सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजेमन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले यसपटक शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको म्यानेजमेन्टले आगामी दिनमा टिम नै खरिद गर्ने सम्भावना रहने बताए ।
क्रिकेटको विकासका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षक नियुक्त गरिएको पनि उनले बताए । म्यानेजमेन्टमा दिवा समूहका सबै विद्यार्थीको बाक्लो उपस्थितिमाझ बारा जिल्लाका अनिल साहले आफ्नो व्यावसायिक क्रिकेटको सुरुवात भने मकवानपुरबाटै सुरु भएको बताए । उनले म्यानेजमेन्ट भन्ने बित्तिकै कडा अनुशासन भन्ने बुझिने उल्लेख गर्दै कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागू गरेकै कारण सफलता मिलेको बताए ।
आशिफ शेख मार्की प्लेयर भएको जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय टिमका पूर्वमुख्यप्रशिक्षक श्रीलंकाली पुबुदु दसानायके रहेका छन् । मंसीर १५ गतेदेखि काठमाडौँमा सुरु हुने एनपीएलमा जनकपुर बोल्ट्समा अमेरिका निवासी हेटौँडा–५ का इन्जिनियर उत्सव सिग्देलले पनि लगानी गरेका छन् ।































प्रतिक्रिया