काठमाडौँ । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जित्न सफल भएका छन् ।
६ अन्डर ६२ को शानदार स्कोरमा एमेच्योर सद्भाव आचार्यले समग्रमा १५ अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौँ ओपनमा भुवन नगरकोटीले बनाएको १४ अन्डर २५८ को रकर्ड तोडेका हुन् ।
उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३ अन्डर ६५ सहित समग्रमा १३ अन्डर २५९ को स्कोरमा दोस्रो भए। उनले प्रोतर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले अन्तिम दिन ३ अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८ अन्डर २६४ सहित तेस्रो भए। उनले ८५ हजार नगद हात पारे।
एमेच्योर राहुल विके समग्रमा ६ अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४ अन्डर ६४ स्कोर दर्ज गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए। नेपाल नम्बर एक प्रो भुवनले आज ४ अन्डर ६४ सहित समग्रमा ४ अन्डर २६८ सहित पाँचौ हुँदै नगद ६८ हजार जिते। विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३ अन्डर २६९ को स्कोरमा संयुक्त रुपमा छौटौं स्थान बाँडे। विष्णुले ३ ओभर ७१ मा खेल सकाए। पहिलो दिनका लिडर जयरामले आज ६ अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औंदेखि १८औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे। उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे।
समग्रमा इभन पार ७२ सहित सञ्जय लामा आठौं, २ ओभर २७४ सहित दीपक मगर नवौं र ३ ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौं, नवौं र दशौं भए। सञ्जयले आज ४ अन्डर ६४, दीपकले ३ ओभर ७१ र तोरणले ३ अन्डर ६५ बनाए। उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे।
अन्तिम दिन आज खेलको सुरूवात गर्दा सदभाव निरज भन्दा एक स्ट्रोकले पछि थिए। आज फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो। दुवैले फ्रन्ट नाइन ४ अन्डर ३० मा सकाए। सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे। निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे।
११औं होल टर्निङ प्वाइन्ट बन्यो। सद्भावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले। यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए। सद्भावले यसपछि १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे। यही अग्रतालाई निरन्तरता दिँदै सद्भावले ब्याक नाइन २ अन्डर ३२ मा सकाए र उपाधि जिते। निरजले भने ब्याक नाइन १ ओभर ३५ मा पुरा गरे। सद्भावले आज पनि बोगीरहित प्रदर्शन गरे।
दिनेशले फ्रन्ट नाइन २ अन्डर ३४ मा खेले। पहिलो, चौथो, पाँचौं र आठौं होलमा एक एक सट बचाए। तर सातौं होलमा डबल बोगी खेपे। यसपछि १४औं होलको बोगी विरुद्ध १०औं र १३औं होल बर्डीले ब्याक नाइन १ अन्डर ३३ मा सकाए।
प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। चार दिने प्रतियोगितामा कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो। कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे।































प्रतिक्रिया