काठमाडौँ । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग(एनपीएल) अहिलेसम्म के–के रेकर्डहरु बने भन्ने खुलदुली तपाईंको मनमा पक्कै आएको होला ! नेपाली घरेलु क्रिकेटमा यति ठुलो स्तरमा पहिलो पटक सम्पन्न हुन लागेको प्रतियोगिता अवधिभर बन्ने स्कोर या विकेट सबै रेकर्ड नै बन्ने भएका कारण आजको यस रिपोर्टमा हामीले प्रमुख र सबैलाई चासो भएको रेकर्डहरुका बारेमा मात्रै चर्चा गर्ने छौं ।
पहिलो शतक आन्द्रेस गौस
जारी एनपीएलमा ३२ वटा खेल भइसक्दासम्म एउटा मात्रै शतक बनेको छ । त्यो शतक पनि नेपाली खेलाडीको नाममा नभएर पोखरा एभेन्जर्सबाट खेलेका अमेरिकन क्रिकेटर आन्द्रेस गौसको नाममा रहेको छ । गौसले पोखराबाट खेल्दै लुम्बिनी लायन्सविरुद्ध सानदार शतक प्रहार गरेका हुन्। तर तपाईलाई थाहाँ छ सोही खेलमा लुम्बिनी तथा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । तर, पहिलो ऐतिहासिक शतकबाट चुके । पहिलो इनिङ्ससम्म त्यो व्यक्तिगत उच्च स्कोर थियो । तर दोस्रो इनिङ्समा गौसले सानदार ब्याटिङ गर्दे व्यक्तिगत उच्च स्कोरमा रोहितलाई पछि पार्दै प्रतियोगिताको पहिलो शतक आफ्नो नाममा लेखाएका हुन्। सो खेलमा गौसले ५५ बल खेल्दै १२ चौका र ५ छक्काको मद्दतमा अविजित १०४ रन बनाएका थिए ।
पहिलो अर्धशतक मार्टिन गप्टिल
पहिलो शतक आन्द्रेस गौसको नाममा बन्दा अर्धशतक भने विराटनगर किंग्सबाट खेलेका न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिलको नाममा रह्यो। उनले जनकपुर बोल्ट्सविरूद्धको उद्घाटन खेलमै अर्धशतक बनाएका थिए ।
लिग चरणमै दुई अर्धशतक बनाउने रोहित पौडेल र रवि बोपारा
जारी एनपीएलको लिग चरणमै एकै खेलाडीले दुई पटक अर्धशतक बनाउनेमा नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवन राइनोजका अलराउण्डर रवि बोपाराको नाममा बन्यो। जारी प्रतियोगितामा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका रोहितले पोखरा एभेन्जर्स र चितवन राइनोजविरुद्ध अर्धशतक बनाएका हुन् । यसैगरी रोहितले जस्तै रवि बोपाराले पनि लगातार दुई खेलमा अर्धशतक बनाएका थिए । उनी अहिले एनपीएलमा सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी हुन् ।
जिमी निशमले फास्टेस्ट अर्धशतक
एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेको रेकर्डमा जनकपुर बोल्ट्सका जीमी नीशम छन् । उनले चितवन राइनोज विरुद्धको खेलमा १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । उनले ४ चौका ५ छक्का प्रहानर गर्दै अर्धशतक पूरा गरेका थिए । यसअघि पोखरा एभेन्जर्सका आन्द्रेस गौसले लुम्बिनीविरूद्ध शतक पूरा गरेको खेलमा २० बलमा ५० रन कटाएका थिए।
एकै खेलमा ६ विकेट लिने विलियम बोसिस्टो
जारी एनपीएलमा एकै खेलमा ६ विकेट लिने कीर्तिमान कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टोको नाममा रहेको छ । उनले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै उक्त रेकर्ड राखेका थिए । अष्ट्रेलियाबाट सन् २०१२ मा यू–१९ विश्वकपको कप्तानी गरेका बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभर स्पेलमा २८ रन खर्चेर ६ विकेट लिएका हुन्। यसअघि एकै खेलमा ५ विकेट लिने खेलाडी चितवन राइनोजका सोहेल तनविरसहित सुदूरपश्चिम रोएल्सका नरेन साउद, जनकपुर बोल्ट्सका हर्श थाकर र सुदूरपश्चिमकै स्कट कुगेलेइनले पनि एकै खेलमा ५ विकेट लिएका थिए ।
१० विकेटको जित र उच्च साझेदारी
एनपीएलको समूह चरणमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध कीर्तिमानी १० विकेटको जित हात पार्यो । लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा १७६ रन बनाउँदै पूरा गरेको थियो । एनपीएलमा पहिलो १० विकेटको जितमा पोखरा एभेन्जर्सको नाम रह्यो । यस जितमा आन्द्रेस गौसले शतक र दिनेश खरेलले अर्धशतक प्रहार गरे ।
यही खेलमा पोखराका आन्द्रेस गौस र दिनेश खरेलले सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनाए । ओपनरद्वय गौस र खरेलले पहिलो विकेटका लागि १७६ रनको कीर्तिमानी साझेदारी गरे ।
एनपीएलमा पहिलो १० विकेटमा बनेको यो साझेदारीमा अरु पनि कीर्तिमान छ । पहिलो विकेटका लागि यो नै उच्च साझेदारी पनि हो । साथै कुनै पनि विकेटका लागि एनपीएलमा अहिलसम्म भएकोमध्ये यो उच्च साझेदारी हो । यस खेलमा गौसले अविजित १०४ र दिनेशले अविजित ६१ रन बनाएका थिए। गौसले ५५ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे भने ४६ बल खेलेका दिनेशले ४ चौका र ४ छक्का प्रहार गरेका थिए।
पहिलो सुपर ओभर
जारी एनपीएलमा पहिलो सुपर ओभर पनि भएको छ । उक्त पहिलो सुपर ओभर पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भएको थियो । यसका साथैं पहिलो सुपर ओभर जित्ने टोली पोखरा एभेन्जर्स बनेको छ । उक्त सुपरओभर पोखराले १३ रनले जितेको थियो ।
१ बलमै १५ रन
चितवन राइनोजका बलर अमर सिंह रौटेलाको ओभरमा विराटनगर किंङ्सले एकै बलमा १५ रन जोडेको थियो । खेलको ११ औं ओभरमा बलिङ गर्न आएका रौटेलालले सुरुआती तीन ओभर निकै किफायती बलिङ गरेका थिए । तर त्यसपछि चौथौं ओभर बलिङ गर्न आएका उनले पहिलो बलमा मार्टिन गप्टिललाई एक रन दिए ।
यस्तै दोस्रो बलमा बसिर अहमदलाई कुनै रन दिएनन् । तेस्रो बलमा रौटेलाको बलमा बसिरले एक रन जोडेर मार्टिन गप्टिललाई स्ट्राइक दिए । चौथो बलमा गप्टिलले राउटेलालाई छक्का प्रहार गरे । पाँचौ बलमा गप्टिलले एक रन लिए । पाँचौं बलसम्म विराटनगरले जम्मा ९ रन जोडेको थियो । तर त्यसपछि अन्तिम बलमा जे भयो त्यो इतिहास नै बन्यो ।
राउटेलाको अन्तिम बलमा बसिरले छक्का प्रहार गरे । तर उक्त बल ‘नो बल’ थियो । नो बलका कारण राउटेलाले फेरि बलिङ गर्नुपर्यो । त्यसमा बसिरले २ रन जोडे तर फेरि पनि ‘नो बल’ नै भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो । राउटेलाले फेरि बलिङ गर्नु पर्यो । त्यो बल पनि ‘नो बल’ भयो तर बसिरले कुनै रन लिएनन् । तर नो बलका कारण त्यस बल वापत १ रन आयो । ३ पटक ‘नो बल’ फालेपछि बल्ल चौथो प्रयासमा राउटेलाले नर्मल बलिङ गरे । त्यसमा बसिरले चौका प्रहार गरिदिए । यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्यो र त्यसैको फाइदा उठाएर विराटनगरले एकै बलमा १५ रन बनाएर एनपीएलमा नयाँ इतिहास कोर्न सफल भएको हो ।
समूह चरणमा धेरै रन बनाउने रोहित पौडेल
जारी एनपीएलको समूहचरणमा सर्वाधिक रन बनाउने रेकर्ड पनि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको नामा रहेको छ । उनले ७ खेल खेल्दै दुई अर्धशतकसहित २७९ रन बनाएका हुन्। रोहितको टोली समूहचरणबाटै बाहिरिए पनि रोहितले टोलीका लागि भने निकै राम्रो प्रदर्शन गरेका थिए । जहाँ रोहितले २६ चौका र ११ छक्का समेत प्रहार गरेका थिए।
सर्वाधिक विकेट लिनेमा स्कट कुगेलेइन र ललित राजवंशी
जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने होडमा सुदूरपश्चिमका फाष्ट मिडियम बलर स्कट कुगेलेइन र जनकपुरका ललित राजवंशी अघि छन् । दुवैले हाल समान १६ विकेट लिएका छन् । सुदूरपश्चिमबाट कुगेलेइनले ८ खेलमा सर्वाधिक १६ विकेट लिएका हुन्, जसमा पोखराविरुद्ध एकै खेलमा ५ विकेट पनि समावेश छ । यता ललितले ९ खेलमा १६ विकेट लिएका छन् । अब उनीहरु फाइनलमा पनि खेल्दैछन् । त्यसकारण रेकर्ड कसले बनाउला त भन्ने सबैको चासोको विषय बनेको छ ।
सबैभन्दा ठूलो लक्ष्य पछ्याउने टोली विराटनगर किंग्स
लिग चरणमा कुनै पनि टिमले २०० रनको स्कोर बनाउन सकेनन् । तर सबै भन्दा ठूलो स्कोर बनाउने कीर्तिमानी भने विराटनगर किंग्सको नाममा बनेको छ । विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै १९.५ ओभरमै १९३ रन बनाएर रेकर्ड आत्मसाथ गरेको छ ।
एकै खेलमा सर्वाधिक क्याचर अनिल शाह
यसैगरी एकै खेलमा सर्वाधिक क्याच लिने खेलाडी जनकपुर बोल्ड्का मार्की अनिल शाहको नाममा बनेको छ । अनिलले काठमाडौँ गुर्खाजविरुद्ध एकै खेलमा ५ क्याच लिएर उक्त कीर्तिमानी बनाएका हुन्। समग्रमा अनिलले लिग चरणमा कुल १२ क्याच लिएका छन्। उनीपछि सुदूरपश्चिम रोयल्सका नरेश बुढायरले ९ क्याच लिएका छन्।
यी बाहेक पनि एनपीएलमा अन्य धेरै साना रेकर्डहरु बनेका छन् तर हामीले केही प्रमुख र महत्वपूर्ण रेकर्डहर मात्र समेटेका हौंं ।





























प्रतिक्रिया