नेपाली क्रिकेटको उतारचढावपूर्ण यात्रामा मोन्टी देसाईले गरेको त्यो ‘कायापलट’

नेपाली क्रिकेटको उतारचढावपूर्ण यात्रामा मोन्टी देसाईले गरेको त्यो ‘कायापलट’


काठमाडाैं । मोन्टी देसाई अर्थात् नेपाली क्रिकेटका एक पिल्लर, यो नाम नेपाली क्रिकेट क्षेत्रले सायदै बिर्सिन सक्ला ! नेपाली क्रिकेटको खस्कँदो साख जोगाएर विश्वकप, एसिया कप र एकदिवसीय मान्यता दिलाएका मोन्टीले अब नेपाली क्रिकेट छाडेका छन् । जादूगर बनेर नेपाली क्रिकेटलाई जिरोदेखि हिरोसम्मको यात्रामा दोर्याउने क्रममा प्रमुख सेनानीको भूमिका निर्वाह गरेका मोन्टीलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको पदवीबाट निष्कासन गरेसँगै अब उनले नेपाली क्रिकेटको बागडोर सम्हाल्न पाउने छैनन् । क्यानले जारी गरेको विज्ञप्तीमा मोन्टीको सम्झौता थप नगर्ने निर्णय गर्दै मोन्टीलाई धन्यवाद दिँदै बिदाइ गरेको छ ।

यसै क्रममा प्रशिक्षक मोन्टीले सामाजिक सञ्जालमा आफ्नो भावनात्मक बिदाई पोष्ट व्यक्त गर्दै ‘यो बिदाई होइन, हार्दिक धन्यवाद हो’ भनेका छन् । आफ्नो विदाइ पोस्टमा, देसाईले टोलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘खेलाडीहरू, तपाईं लाखौंको सपना बोक्नुहुन्छ । मैदानमा रहनुहोस्, एक बल युद्ध मानसिकता अँगाल्नुहोस् ।’ यस्तै प्रशंसकहरूलाई पनि उनले भने, ‘तपाईंको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो बल भएको छ ।’ देसाईले नेपाललाई आफ्नो दोस्रो घर भएको भन्दै भावनात्मक रुपमा समेत जोडिएको उक्त स्ट्याट्समा बताएका छन् ।

नेपाली क्रिकेटमा अनुबन्ध भएको २ वर्षको दौरान मोन्टीको कार्यकालमा नेपाली क्रिकेटले के–कस्ता उपलब्धि हासिल गर्न मद्दत गरे त ?

क्यानले मोन्टीलाई अनुबन्ध गर्नुअघि मनोज प्रभाकरलाई १ वर्षका लागि प्रशिक्षकमा अनुबन्ध गरेको थियो । तर उनले पनि नेपाली क्रिकेटमा जम्मा ४ महिना मात्रै प्रशिक्षण गराउन पाए । क्यानले उनलाई लगातारको खराव नतिजा, खेलाडीसँगको बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमै प्रश्न उठेपछि बर्खास्त गरेको थियो । यसरी नेपाली क्रिकेटको लिग–२ मा एकपछि अर्को हार व्यहोर्दै एकदिवसीय मान्यता गुमाउने अन्तिम अवस्थामा पुगेको नेपाली क्रिकेटलाई सम्हाल्न मोन्टी २०७९ माघ २३ गते प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका थिए ।

हुन त मोन्टी नेपाली क्रिकेटका लागि नयाँ नाम भने पक्कै थिएन । उनी यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन् । उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका थिए । देसाईले सन् २०१५ को आईसीसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए । नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार्ने अपेक्षा छ । १२ वर्षदेखिको ब्याटिङ अनुभव भएका देसाईसँग अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आईपीएल टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश हेरिसकेको अनुभव छ । सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व टी–२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए ।

नेपाल आउनुअघि मोन्टीले आन्द्र क्रिकेट एशाेसिएसन एसीएको प्रशिक्षण सम्हालेका थिए । उनीसँग नौ वर्ष इन्डियन प्रिमियर लिग आईपीएलमा फरक–फरक क्लबहरूसँग काम गरेको अनुभव पनि थियो । त्यति मात्रै होइन मोन्टीसँग सन् २०१८ मा अफगानिस्तान र सन् २०१९ को अक्टोबरमा युनाइटेड अरब इमिरेट्स यूएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका अनुभव पनि थियो । यसका साथैं सन् २०१९ मै मोन्टीले विश्वकप क्रिकेट लिग–२ का लागि क्यानडाको मुख्य प्रशिक्षण सम्हालेका थिए । सोही वर्ष उनी दुई वर्षको सम्झौतासहित वेस्ट इन्जिड क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए । यी र यस्तै विशेषताका कारण क्यानले मोन्टीलाई आवेदन दिएका २४ जना प्रशिक्षकमध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकमध्येबाट पनि अन्तरवार्ता मार्फत २ वर्षका लागि छनौट गरेको थियो ।

अनुबन्धित भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटले आइसिसी विश्वकप लिग–२ मा खेलेका १२ मध्ये ११ खेल जित्दै सनसनी नै मच्चाएको थियो । यस्तो उपलब्धि नेपाली खेलाडी तथा समर्थकले कल्पनासम्म पनि गरेका थिएनन् । कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता पनि चार वर्षका लागि जोगिएको थियो ।

मोन्टीको आगमनसँगै लिग–२ मा उत्कृष्ट खेलेपछि नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कपमा छनोट भयो । एसिया कपमा नेपालले विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। जहाँ बलियो भारतविरुद्ध नेपालले २३० रन बनाउन सफल भएको थियो । पाकिस्तानविरुद्ध भने नेपालको खेल बिर्सन लायक थियो ।

यसैगरी गत वर्ष नेपालले मोन्टी देसाईकै नेतृत्वमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै एक दशकपछि टी–२० विश्वकपमा छनौट भएको थियो । अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी–२० विश्वकपमा नेपालले अविश्वसनिय प्रदर्शन गर्दै दक्षिण अफ्रिका र बंगलादेशलाई आच्छु–आच्छु बनाएको थियो । अझ विशेष गरेर दक्षिण अफ्रिकाविरुद्ध नेपालले देखाएको प्रदर्शनी नेपाल र दक्षिण अफ्रिकाले कहिल्यै बिर्सने छैन । उक्त खेलमा नेपाल १ रनले मात्र हारेको थियो । यो जितपछि दक्षिण अफ्रिकाले फाइनलसम्म यात्रा तय गरेको थियो ।

त्यति मात्रै होइन मोन्टी देसाईले नेपाली क्रिकेटमा ह्याप्पी ड्रेसिङ रुमको कन्सेप्ट पनि भित्र्याएका थिए । मोन्टीले राष्ट्रिय क्रिकेट टाेलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेलगत्तै मोन्टीले पहिलो प्रेस मिटमा भनेका थिए, ‘म ह्याप्पी ड्रेसिङ रुम चाहन्छु ।’ नभन्दै उनको आगमनसँगै करिब १० दिनको अन्तरालमा नेपाली टाेलीको ड्रेसिङ रूपमा सकारात्मक माहोल बनेको थियाे, जसले गर्दा प्रशिक्षकबारे खुलेर नबोल्ने खेलाडीहरू पनि मोन्टीको प्रशंसा गर्थे ।

तर पछिल्लो समय मोन्टीको नेतृत्वमा नेपालले खेलेका प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । अझ स्पष्ट भन्नु पर्दा मोन्टी नेपाली क्रिकेटमा अनुबन्ध हुनुअघि नेपालको जस्तो अवस्था थियो अहिले फेरि पनि उही अवस्थामै पुगेको छ । नेपालले पछिल्लो समय खेलेका लिग–२ का १२ खेलमध्ये ८ खेलमा हारका साथ २ खेलमा मात्रै जित निकाल्ने सकेको छ भने २ खेल वर्षाका कारण रद्द भएका छन् । यसै कारण लिग–२ को यो संस्करणमा नेपाल पहिलो वर्षको अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ । त्यसैले लिग–२ मा नेपाललाई चुनौती थपिएको छ ।

टी–२० फर्म्याटमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । सन् २०२४ को एसिसी प्रिमियर कपमा नेपालले खराब प्रदर्शन गर्यो । सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा पुग्नै सकेन । यति मात्र होइन तेस्रो स्थानको खेलमा हङकङसँग समेत हार्दा नेपालले इमर्जिङ एसिया कप पनि गुमाउन पुग्यो ।

पछिल्लो समय जित्न बिर्सिएको नेपालको प्रदर्शनीका कारण क्यानले मोन्टीको विकल्प खोजेको हो । अब नेपाली क्रिकेटलाई थप उचाईमा पुर्याउन अझै सक्षम र सबल नयाँ सोचयुक्त नयाँ प्रशिक्षकको खोजीमा क्यान छ । यस्तोमा क्यानले अब नयाँ प्रशिक्षकका रुपमा कसलाई बागडोर सम्हाल्न देला भनेर नेपाली क्रिकेटप्रेमीका लागि चासोको विषय बनेको छ । जसमा पूर्वप्रशिक्षक डेभ वाटमोर, ब्रायन लारा, पुबुदु दसानायकेलगायत मुख्य प्रशिक्षक क्यानकाे नजरमा छन‍् भन्ने चर्चा हुने गरेकाे छ ।
नयाँ प्रशिक्षकमाथि एसिया एण्ड इस्ट एसिया–पेसिफिक छनोट मार्फत नेपाललाई टी–२० विश्वकपमा छनौट गराउने चुनौतीका साथै आईसीसी विश्वकप लिग–२ मा एकपछि अर्को हारको श्रृङ्खलालाई तोड्दै ओडीआई मान्यतालाई यथावत् राख्ने चुनौती रहेको छ ।

Logo