‍‍‍…अनि अधुरै रह्यो नेपालको उपाधि जित्ने सपना

‍‍‍…अनि अधुरै रह्यो नेपालको उपाधि जित्ने सपना

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । बुधबार साँझ रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो ।

फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु पर्यो ।

म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।

३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन । ४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् ।

पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राखेको थियो । गोल गर्ने केहि उत्कृष्ट मौका पनि पायो तर, सदुपयोग गर्न सकेन्। यता दोस्रो हाफमा म्यानमारले रवाफिलो प्रदर्शन गर्यो नतिजा आफ्नो पोल्टामा पार्न सफल भयो ।

नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रह्यो ।

पछिल्लो वर्ष नेपाल फाइनलमा पराजित भएको यो तेस्रो पटक हो। यसअघि वाफको फाइनलमा नेपाल जोर्डनसँग टाइ ब्रेकरमा र साफको फाइनलमा बङ्गलादेशसँग स्तब्ध भएको थियो। सन् १९८६ देखि एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यू गरेको नेपाल हालसम्म उपाधिविहीन छ ।

Skip This
Skip This
Logo