अस्ट्रेलियाले फाइनलमा पुग्न भारतलाई दियो २६५ रनको लक्ष्य

अस्ट्रेलियाले फाइनलमा पुग्न भारतलाई दियो २६५ रनको लक्ष्य

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । अस्ट्रेलियाले नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्दी भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६४ रन जोडेको हो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङको योगदान गरे । ९६ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए ।

यसैगरी एलेक्स क्यारीले ५७ बलमा ८ चौका र एक छक्काको मदतमा ६१ रन जोडे । खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि उनीहरुको यो अर्धशतक निकै महत्वपूर्ण रह्यो । यसअघि ओपनर कुपर शून्यमै आउट हुँदा ट्राभिस हेडले ३९ रन जोडेका थिए । मार्नुस लाबुस्चाग्नेले २९ रन, बेन द्वारशुइसले १९ रन जोडे ।

बलिङतर्फ भारतका मोहम्मद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए ।

आजको सेमिफाइनल खेललाई सन् २०१५ मा भएको विश्वकपकै अर्को रूपमा हेरिएको छ । किनभने उक्त वर्ष पनि सेमिफाइनलमा भारत र अस्ट्रेलिया भेट्दा अर्कोतर्फ साउथ अफ्रिका र न्युजिल्यान्ड भिडेका थिए । उक्त वर्ष अस्ट्रेलियाले भारतलाई हराएर फाइनल नै जितेर च्याम्पियन बनेको थियो। आजको दिन ठ्याक्कै त्यस्तै मोडमा आएको छ। अस्ट्रेलिया भारतलाई हराएर एक दशक अघिको सोही नतिजालाई दोहोर्याउन चाहन्छ भने अर्कोतर्फ उच्च लयमा रहेको भारत पनि आफ्नो सधैँको तगारोका रुपमा रहेको अस्ट्रेलियालाई हराउँदै च्याम्पियन ट्रफीको उपाधि आत्मसात गर्न चाहन्छ।

Logo