सानेपामा खुल्यो रेडियन्ट क्रिकेट एकेडेमी, ज्ञानेन्द्र मल्लले गरे उद्घाटन

सानेपामा खुल्यो रेडियन्ट क्रिकेट एकेडेमी, ज्ञानेन्द्र मल्लले गरे उद्घाटन

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ ।

निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन)का केन्द्रीय अध्यक्षसमेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले उक्त क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीको बुधबार एक कार्यक्रमबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको यो क्रिकेट एकेडेमी करिब ३० लाख रुपैयाँ लगानीमा तयार भएको हो । एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ । प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्संङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन् ।

विद्यालयमा हाल १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबुलटेनिस, बाँस्केटबल, फुटबल, पौडी, कराँते र जिम्न्यास्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

कार्यक्रममा संस्थापक प्रिन्सिपल डीके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताए । नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनउनेतर्फ प्याब्सनले काम गरिरहेको उनको भनाइ थियो ।

यसैगरी पूर्वकप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउँदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गरे ।

Logo