काठमाडौं । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक दर्ता गरेको हो ।
युगान्डाले दिएको ७७ दिनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर साना प्रविणले ३५ बलको सामना गरेर सर्वाधिक १७ रन जोडिन् । पूजा महताले ३० बलमा १६ रन बनाउँदा रुविजना क्षेत्रीले १० रन जोडिन् । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
त्यसअघि खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनाएको थियो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।
त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् ।
बलिङतर्फ नेपालकी पूजा महतोले एक मेडन ओभरसहित ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले पनि एक मेडन ओभरसहित २ विकेट लिइन् ।
हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।





























प्रतिक्रिया