नेपाल डजबल टोलीलाई कास्य पदक

नेपाल डजबल टोलीलाई कास्य पदक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय अन्तर्राष्ट्रिय डजबल प्रतियोगितामा नेपालले पहिलो सहभागितामै प्रभावशाली प्रदर्शन गर्दै कास्य पदक हात पारेकाे छ ।

अप्रिल २५ देखि २७ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो।

छोटो तयारी समय, सीमित स्रोत र पहिलो अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै नेपाली टोलीले जुझारु र आत्मविश्वासी प्रदर्शन गर्दै सबैको ध्यान खिच्न सफल भयो। भारतविरुद्ध ३–१ को प्रतिस्पर्धात्मक हार र मलेसियन राइनोसविरुद्धको साहसिक खेल प्रदर्शनले नेपाललाई तृतीय स्थानमा पुर्यायो ।

महासंघका महासचिव अरुण तिमल्सिनाको नेतृत्वमा नेपाली टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउनु मात्र नभई अनुशासित र प्रेरणादायी प्रदर्शन गर्न सक्यो। प्रतियोगिता पश्चात तिमल्सिनाले अन्तर्राष्ट्रिय अनुभवलाई मूल्यांकन गर्दै नेपालमा डजबलको विकासका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय अनुभव लिँदै हामी अब मलेसियामा हुने एशियन डजबल च्याम्पियनशिपका लागि अझ सशक्त तयारी गर्दैछौं। योजनाबद्ध कार्यक्रम र उच्चस्तरीय तालिममार्फत प्रतिस्पर्धी राष्ट्रिय टोली निर्माण हाम्रो प्राथमिकता हो।’

उक्त प्रतियोगितामा विशेष अतिथि रहेका एशियन डजबल महासंघका महासचिव दासा सुब्रमन्यमले समेत नेपालबाट पहिलोपटक सहभागिता भएकोमा खुशी व्यक्त गर्दै भने, ‘नेपालले देखाएको प्रदर्शनबाट म निकै प्रभावित भएँ। म नेपालमा डजबलको उज्ज्वल भविष्य देख्छु।’

नेपाली टोलीको यो सफलताले नेपालमा डजबल खेलप्रति जनचासो बढाउने विश्वास गरिएको छ । महासचिव तिमल्सिनाको सक्रियता, दूरदृष्टि र प्रतिबद्धताले खेलको दीर्घकालीन समृद्धिको मार्ग प्रशस्त हुने देखिएको छ ।

Skip This
Skip This
Logo