काठमाडौं । कुशल मल्ल र देव खनाललाई हटाएर नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ।
शनिबार कोर क्याम्प पहिलो फेजको अभ्यास खेल सकिएसँगै क्यानले दोस्रो फेजका लागि खेलाडी छनोट गरेको हो । २५ सदस्यीय टोलीमा युवराज खत्री, किरण ठगुन्ना, नन्दन यादव, शुभ कंसाकार, भीम सार्कीलगायत २५ सदस्यीय टोली अटाउँदा कुशल मल्ल र देव खनाल भने अटेनन् । यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन् । क्यानले कोर क्याम्पको पहिलो फेजका लागि ५२ जना खेलाडी समेटिएको थियो ।

नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल’ को नेतृत्वमा ती ५२ जना खेलाडीलाई चार टिममा विभाजन गरी आपसमा खेलाइएको थियो । प्रशिक्षक स्टुआर्टले ५२ जना खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो टोली बनाएर मूलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा गराउँदै टिमको सर्टलिस्ट गरेको हो। क्यानले शुक्रबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगामी मे महिनामा हुने युके टुरको खेल तालिकासमेत सार्वजनिक गरेको छ।
आइसिसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत स्कटल्यान्डको सिरिजअगाडि नेपालले इंग्ल्यान्डमा ५ वटा अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ।
छनोट खेलाडीहरू: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बशिर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीश जीसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम, शुभ कंसकार।
































प्रतिक्रिया