काठमाडौं । इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले फेरि एकपटक कमजोर प्रदर्शन गरेको छ । गएराति सम्पन्न खेलमा नटिङ्घम फरेस्टले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेलेको हो ।
सेल्हर्स्ट पार्कमा भएको खेलमा घरेलु टोली क्रिस्टल प्यालेसले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६०औँ मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, नटिङ्घम फरेस्टले त्यसको चार मिनेटपछि नै खेलमा बराबरी गोल फर्कायो । खेलको ६४औँ मिनेटमा नटिङ्घम फरेस्टका मुरिलोले नेको विलियम्सको पासमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
खेलको अन्तिम समयमा क्रिस्टल प्यालेसका एजेले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो भने इन्जुरी समयमा क्रिस्टल प्यालेसका वैकल्पिक खेलाडी एड्डी एन्केटियाले गोल गरे पनि भिएआरले त्यसलाई अफसाइड घोषित गरेको थियो ।
बराबरीसँगै नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर बनेको छ । यो बराबरीले छैटौं स्थानमा रहेको नटिङ्घम फरेस्टलाई शीर्ष पाँचमा पुग्न थप कठिन बनाएको हो । यता उसको बराबरीले अन्य टोलीलाई भने फाइदा पुगेको छ ।































प्रतिक्रिया