पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आज भएको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन जोड्यो।
विदेशी(इंग्ल्याण्ड) खेलाडी पिटर ट्रिगोले ३८ बलमा ५३ रन बनाए । यस्तै सौरभ खनालले अन्त्यतिर १३ बलमा ४१ रनको पारी खेले। विराटनगरका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए भने किशोर महतो, सन्दीप लामिछाने र सुनिल धमलाले एक एक विकेट लिए।
विराटनगर र धनगढीले यसअघि एक—एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले यसअघिको खेल गुमाएका थिए । पहिलो खेलमा विराटनगर टाइटन्स पोखरा पल्टनसँग ५८ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने एक्स्पर्ट धनगढी १७ रनले काठमाडौं रोयल्ससँग पराजित भएको थियो ।
त्यस्तै, आज दिउँसो सवा १ बजे सुरु हुने खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्स शरद भेषावकरको टिमविरुद्ध खेल्दैछ । यसअघि खेलेका खेलमा दुवै टोलीले जितेका छन् । बुटबलले चितवन राइनोजलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।
अहिले विराटनगर टाइटन्सले ब्याटिङ् गरिरहेको छ ।
६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।































प्रतिक्रिया