काठमाडौं । बेंगलुरुमा बुधवार आयोजित रोयल च्यालेन्जर्स बेंगलुरुको आईपीएल जितको विजयउत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु भएको थियो ।
बेंगलुरु प्रहरीले यो दुखद घटनाको लागि आरसीबी, कर्नाटक राज्य क्रिकेट संघ (केएससीए), र कार्यक्रम व्यवस्थापनमा संलग्न डिएनए इन्टरटेन्मेन्टविरुद्ध प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरेको छ । कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले यो घटनाको गहन छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन् । साथै, उनले एफआईआरमा उल्लेखित सबै पक्षका प्रतिनिधिहरूलाई तत्काल पक्राउ गर्न निर्देशन पनि दिएका छन् । क्युबन पार्क प्रहरी चौकीका निरीक्षकलाई घटनाप्रति जिम्मेवार ठहराउँदै तत्कालै निलम्बन गरिएको छ भने प्रहरीले यो केसको अनुसन्धान सीआईडीलाई सुम्पिसकेको छ ।
पहिलो पटक आईपीएल विजेता बनेको आरसीबीको जितको उत्सव मनाउन बुधबार चिन्नास्वामी स्टेडियममा विजयोत्सव परेड आयोजना गरेको थियो । तर, प्रहरीको अनुमतिबिना नै आयोजित यो कार्यक्रममा लाखैंको संख्यामा समर्थकहरु उपस्थित हुँदा भीड व्यवस्थापनको स्थिति नियन्त्रणबाहिर गएको थियो । क्युबन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश ए.के. को उजुरीका आधारमा दर्ता गरिएको एफआईआरमा आरसीबी, केएससीए र डिएनए इन्टरटेन्मेन्टलाई मुख्य अभियुक्त बनाइएको छ ।
भारतीय दण्ड संहिताका धारा १०५ (हत्या नभए पनि दोषी ठहरिने), ११५ (जानबुझी चोट पु¥याउने), ११८ (खतरनाक तरिकाले गम्भीर चोट पु¥याउने), १३२ (सार्वजनिक सेवकको कर्तव्यमा बाधा पु¥याउने), १२५ (ज्यान वा सुरक्षामा खतरा पु¥याउने), र १९० (गैरकानुनी जमघट) अन्तर्गत यो मुद्दा दर्ता भएको छ ।
यी धाराहरूले आयोजकहरूको आपराधिक लापरवाही, भीड व्यवस्थापनमा चरम कमजोरी र सार्वजनिक सुरक्षाप्रति उदासीनतालाई औंल्याएको छ । एफआईआरमा उल्लेख भएअनुसार, चिन्नास्वामी स्टेडियमको क्षमता लगभग ४० हजार मात्र छ, तर कार्यक्रम स्थलमा झण्डै १० गुणा बढी अर्थात् लाखौं समर्थकहरू जम्मा भएका थिए । दिउँसो ३ः१० बजे गेट खोलिएपछि भीड अनियन्त्रित हुँदै भागदौडको स्थिति सिर्जना भएको थियो ।
यो भगदौडले ११ जनाको ज्यान लिनुका साथैं ६४ जना घाइतेको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।





























प्रतिक्रिया