काठमाडाैं । जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । राउन्ड अफ १६ को रोमाञ्चक खेलमा बायर्नले ब्राजिलियन क्लब फ्लेमेन्गोलाई ४-२ गोल अन्तरले पराजित गरेको हाे ।
खेलको छैटौँ मिनेटमै फ्लेमेन्गोका एरिक पुल्गरले आत्मघाती गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै बायर्नका स्टार खेलाडी ह्यारी केनले नवौँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ३३औँ मिनेटमा गेर्सनले गोल गर्दै फ्लेमेन्गोका लागि पहिलो गोल फर्काए। यद्यपि, खेलको ४१औँ मिनेटमा लियोन गोरेट्काले गोल गरेपछि बायर्न पहिलो हाफमै ३-१ को आरामदायी अग्रतामा पुगेको थियो।
खेलको ५५औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गरे तर, ७३औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई जित दिलाएका हुन् । अब बायर्नले क्वार्टरफाइनलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी)काे सामना गर्नेछ ।































प्रतिक्रिया