काठमाडाैं । स्पेनमा भएको कार दुर्घटनामा निधन भएका पोर्चुगिज फरवार्ड डिएगो जोटाको सम्झनामा उनको लिभरपुलको २० नम्बर जर्सीलाई क्लबले अवकाश दिने
घोषणा गरेको छ।
क्लबले एक विज्ञप्ति जारी गर्दै आफ्ना खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेको छ, “क्लबको २० औं प्रिमियर लिग उपाधि (२०२४-२५ सिजन) जित्नमा उनको योगदानका लागि २० नम्बर जर्सीलाई उचित रूपमा अमर गरिनेछ। अप्रिलमा मर्सीसाइड डर्बीमा कोपसामुन्ने उनको ट्रेडमार्क शिमर र स्ट्राइक उनको जीवनको अन्तिम मार्मिक गोल थियो ।”
लिभरपुलले यसअघि कुनै पनि खेलाडीको सम्झनामा जर्सी नम्बर अवकाश दिएकाे छैन।
जोटा र उनका भाइ आन्द्रे सिल्भाको दुर्घटनामा निधन भएपछि फुटबल समुदाय र अन्य क्षेत्रबाट पनि श्रद्धाञ्जलीको ओइरो लागेको छ।
पोर्टाेमा जन्मिएका जोटाले आफ्नो खेल जीवन पाकोस डे फेरेइराको युवा टोलीबाट सुरु गरेका थिए । सन् २०१६ मा एट्लेटिको म्याड्रिडमा सामेल भएपछि उनी पोर्टाेमा ऋणमा खेले र पछि प्रिमियर लिग क्लब वुल्भरह्याम्प्टन वान्डरर्समा स्थानान्तरण भए।
तर, लिभरपुलमा नै उनले आफ्नो उत्कृष्ट व्यावसायिक प्रदर्शन गरे। जर्गेन क्लोपको नेतृत्वमा उनले एफए कप र लिग कप जिते भने २०२४/२५ सिजनमा आर्ने स्लटका नेतृत्वमा प्रिमियर लिगको उपाधि पनि जिते। उनी सन् २०१९ र २०२५ मा यूईएफए नेसन्स लिग जित्ने पोर्चुगल टोलीका पनि सदस्य थिए।































प्रतिक्रिया