काठमाडौं । नेपालले एफसी महिला एशियन कप–२०२६ छनोटअन्तर्गत आज निर्णायक खेलमा प्रतियोगिताकै सर्वाधिक बलियो तथा घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ । खेल आज साँझ सवा ९ बजे तास्केन्तस्थित मिलि स्टेडियममा हुनेछ ।
यो खेल नेपाली महिला टोलीका लागि केवल एक खेल मात्र नभएर महिला फुटबलको भविष्यलाई आकार दिने ऐतिहासिक क्षण पनि हुनेछ । किनकी यो खेलले समूह ‘एफ’ को विजेताको टुंगो लगाउनेछ, र विजेता टोली अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप–२०२६ का लागि छनोट हुनेछ । हार्ने टोली भने छनोट चरणबाटै बाहिरिनेछ । तसर्थ इतिहास कोर्नबाट एक खेलमात्र पछि रहेको नेपाली टोलीका लागि यो खेल जित्नै पर्ने दबाबमा रहेको छ । यो नेपाललाई २६ वर्षको लामो प्रतीक्षालाई तोड्ने अवसर पनि हो ।
किनकी नेपाली महिला फुटबल टोलीले सन् १९९९ पछि महिला एसियन कपमा सहभागिता जनाउने अवसर पाएका छैन । अर्कोतर्फ, उज्बेकिस्तानले पनि सन् २००३ पछि एएफसी महिला एशियन कपमा स्थान बनाउन सकेका छैनन् । त्यसैकारण दुवै टोलीका लागि यो खेल केवल समूह चरणको अन्तिम खेल मात्र नभएर ठूलो सपनाको प्रवेशद्वार पनि हुनेछ । यो खेलको रोमाञ्चक पक्ष भनेको दुवै टोलीको गोल अन्तर र अंक बराबर हुनु हो ।
दुवै टोलीले समूह चरणमा लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६–६ अंक जोडेका छन् । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलले हरायो, भने उज्बेकिस्तानले पनि श्रीलंकालाई १०–० र लाओसलाई ७–० गोलले पराजित गर्यो । दुवै टोलीले १७ गोल गरेर एक गोल पनि खाएका छैनन् । यदि शनिबारको खेल बराबरीमा सकियो भने, एएफसी महिला एसियन कपको नियमावलीअनुसार सिधै पेनाल्टी सुटआउटबाट विजेता छानिनेछ । तर यो अवस्था दुर्लभ हुनेछ, किनभने दुवै टोलीको प्रदर्शन हालसम्म समान देखिएको छ । फिफा वरियतामा उज्बेकिस्तान ५१औं स्थानमा छ, भने नेपाल १००औं स्थानमा रहेको छ ।
विगत हेर्ने हो भने नेपालमाथि उज्वेकिस्तान नै हावी भएको देखिन्छ । सन् १९९९ को महिला एसियन कपमा उज्बेकिस्तानले नेपाललाई ६–१ गोलले हराएको थियो । त्यो खेलमा नेपालको तर्फबाट पेमा डोल्मा लामाले गरेको गोल नै नेपाली महिला फुटबलको पहिलो अन्तर्राष्ट्रिय गोल बनेको थियो । यस्तै, सन् २०१९ को नादेज्दा कपमा पनि उज्वेकिस्तानले नेपाललाई लिग चरणमा २–० र फाइनलमा ३–२ गोल गरी दुई खेलमा पराजित गरेको थियो ।
फाइनल खेलमा नेपालका लागि दुवै गोल सावित्रा भण्डारी (साम्बा)ले नै गरेकी थिइन् । सोहीकारण शनिबार पनि उनकै नेतृत्वमा नेपालले पहिलोपटक उज्बेकिस्तानलाई हराउने अवसर पाएको छ । जारी प्रतियोगितामा नेपालको कप्तानी सम्हालिरहेकी साम्बाले दुई खेलमा एक ह्याट्रिकसहित ७ गोल गरिसकेकी छिन् ।
नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा नेपाली चेलीहरुले फरक रणनीति र फर्मेसनमा खेलिरहेका छन् । पहिलो खेलमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राखेर अन्जना राना मगरलाई अवसर दिइएको थियो । यस्तै, सरस्वती हमाल डिफेन्सिभ मिडफिल्डमा निकै प्रभावशाली देखिएकी छन् । अर्कोतर्फ डिफेन्समा गीता राना, समिक्षा घिमिरे र निशा थोकरले पनि बलियो प्रदर्शन गरिरहेका छन् ।
यहि रणनीतिको प्रयोग गर्दै नेपालले आज बलियो उज्वेकिस्तानलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिने पक्का छ । यदि यो खेल नेपालले जित्यो भने, २६ वर्षपछि महिला एसियन कपमा स्थान बनाउनेछ । यो केवल एसियन कपमा सहभागिताको अवसर मात्र नभएर सन् २०२७ मा ब्राजिलमा हुने फिफा महिला विश्वकप र सन् २०२८ को पेरिस ओलम्पिकको छनोटको ढोका पनि खोल्नेछ ।
एसियन कपमा शीर्ष ६ टोलीले विश्वकपमा स्थान बनाउनेछन्, र ओलम्पिक छनोटको पहिलो चरणमा पनि पुग्नेछन् । तर यदि नेपाली चेलीहरु उज्वेकिस्तानविरुद्ध हारेमा सन् २०३० को महिला एसियन कपअघि ठूलो प्रतियोगितामा सहभागी हुने अवसर गुम्नेछ । त्यसैले, यो खेल नेपाली महिला फुटबलको भविष्यको लागि कोसेढुंगा हुनेछ ।





























प्रतिक्रिया