काठमाडौं । आज महिला युरोकपको फाइनलमा विश्व च्याम्पियन स्पेन र साविक विजेता इङ्ल्यान्डबीच रोमाञ्चक भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे स्विट्जरल्यान्डको बासेलस्थित सेन्ट ज्याकोब पार्क रंगशालामा ३८ हजार दर्शकअघि हुनेछ ।
यो फाइनल खेल दुई वर्षको अवधिमा यी दुई टोलीबीचको दोस्रो ठूलो प्रतियोगिताको फाइनल खेल हो । अर्थात यसअघि यी दुई राष्ट्रको भेट सन् २०२३ मा सम्पन्न महिला विश्वकपको फाइनलमा भएको थियो । जहाँ स्पेनले इङ्ल्यान्डविरुद्ध १–० गोलको जित निकाल्दै विश्व च्याम्पियन बनेको थियो ।
स्पेन र इङ्ल्यान्डबीचको यो भिडन्त केवल उपाधिका लागि मात्र होइन, यो इङ्ल्यान्डका लागि सन् २०२३ को महिला विश्वकप फाइनलको हारको बदला लिने अवसर पनि हो । त्यसयता यी दुई टोलीबीचको प्रतिस्पर्धा थप तीव्र बनेको छ । पछिल्लो दुई वर्षमा स्पेनले महिला फुटबलमा अभूतपूर्व सफलता हासिल गर्दै विश्वकपसँगै युइएफए नेसन्स लिगको उपाधि जितेर आफूलाई विश्व फुटबलको पावरहाउसका रूपमा स्थापित गरिसकेको छ ।
अर्कोतर्फ, इङ्ल्यान्ड युरो २०२२ को साविक विजेताका रूपमा उपाधि रक्षा गर्न र स्पेनमाथि बदला लिन आतुर छ । यी दुई टोलीबीचको हेड–टु–हेड रेकर्ड पनि निकै रोचक छ । हालसम्म १४ पटकको भेटमा इङ्ल्यान्डले ७ खेल जितेको छ भने स्पेनले ४ खेलमा मात्र जित हासिल गरेको छ । बाँकी ३ खेल बराबरीमा सकिएका छन् । युरोकपको सन्दर्भमा भने यी दुई राष्ट्रको यो चौथो भेट हो ।
सन् २०२२ को युरोकपमा इङ्ल्यान्डले स्पेनलाई क्वार्टरफाइनलमा २–१ गोलले र सन् २०१७ मा २–० गोलले स्पेन पराजित भएको थियो । अन्तिम पटक स्पेनले इङ्ल्यान्डलाई युरोकपमा सन् २०१३ मा ३–२ गोलले हराएको थियो ।
अर्कोतर्फ दुवै टोलीका लागि फाइनलको यात्रा सहज भने पक्कै थिएन । सेमिफाइनलमा दुवै राष्ट्रले १२० मिनेटको कठिन लडाइँ लड्नुपरेको थियो । इङ्ल्यान्डले इटालीविरुद्ध १–० ले पछाडि रहेको अवस्थाबाट कमब्याक गर्दै २–१ को जित हासिल गरेको थियो । इङ्ल्यान्डका लागि दुई सुपर–सब खेलाडीले गोल गर्दै टोलीलाई फाइनलमा पु-याएका थिए ।
यता, स्पेनले पनि साविक उपविजेता जर्मनीलाई १–० ले हराएर युरो कपको इतिहासमा पहिलोपटक फाइनलमा स्थान बनाएको हो । खेलको ११३औँ मिनेटमा दुईपटककी बालोन डी’अर विजेता आइताना बोनमतीले जादुमयी गोल गरेपछि स्पेनको फाइनल यात्रा सुनिश्चित भएको हो ।
स्पेन र इङ्ल्यान्ड दुवै टोली समान रूपमा बलिया छन् । स्पेनको पोजिसन–आधारित खेल र इङ्ल्यान्डको काउन्टर अट्याकबीचको यो भिडन्त निकै रोमाञ्चक हुने पक्का छ ।































प्रतिक्रिया