काठमाडाैं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका विंगर लुइस डियाज जर्मन च्याम्पियन बायर्न म्युनिख जाने भएका छन् ।
लिभरपुलले डियाजलाई बायर्नलाई ६ करोड ५५ लाख पाउण्डमा बेच्ने सम्झौतामा सहमति जनाएको हाे । यो सम्झौतासँगै डियाजले लिभरपुलको एसिया भ्रमण छाडेर जर्मनी जान अनुमति पाएका छन्।
२ वर्षको लिभरपुल करार बाँकी रहेका डियाज हाल टोलीसँग टोकियोमा छन् र २४ घण्टाभित्र बायर्न म्युनिखका लागि यात्रा गर्ने अपेक्षा गरिएको छ। लिभरपुल सुरुमा डियाजलाई बेच्न इच्छुक थिएन, तर खेलाडी आफैं बुन्डेसलिगा च्याम्पियनमा सामेल हुन चाहेपछि क्लबले उसको माग स्वीकार गरेको हो।
बायर्न म्युनिखले सुरुमा डियाजका लागि ५ करोड ८५ लाख पाउण्डको प्रस्ताव गरेको थियो, जसलाई लिभरपुलले अस्वीकार गरेको थियो। तर, बायर्नले एड-अनसहित ६ करोड ५५ लाख पाउण्डको दोस्रो प्रस्ताव गरेपछि लिभरपुलले बजार मूल्यमा सहमति जनाएको हो।
डियाज जनवरी २०२२ मा ३ करोड ७५ लाख पाउण्डमा लिभरपुलमा सामेल भएका थिए। उनको प्रस्थानले लिभरपुलको खेलाडी भर्ना योजनामा खासै परिवर्तन ल्याउने छैन, किनभने क्लबले आफ्नो आक्रमणलाई सुदृढ पार्न पहिले नै ह्युगो एकिटिकेलाई अनुबन्ध गरिसकेको छ।





























प्रतिक्रिया