काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आज मिनि अक्सन हुँदैछ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार दिउँसो तीन बजेदेखि खेलाडी छनोटका लागि ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा हुने मिनी अक्सनमा १५० जना खेलाडीको नाम समावेश हुनेछ। अक्सनका लागि ४५८ जनाले नाम दर्ता गराएकामा फ्रेन्चाइच टिमले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अक्सनका लागि एक सय ५० जना खेलाडी छनोट भएका हुन् । ती खेलाडीलाई तीनवटा क्याटेगोरीमा विभाजन गरेको छ। क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी रहेका छन् । यद्यपी यो सूचीमा १४ जना खेलाडी पनि थपिएको खबर पनि छ ।
ए श्रेणीका खेलाडी अनुबन्ध गर्दा १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म बोलकबोल हुनेछ । त्यसमा सबैभन्दा बढी रकम तिर्ने टोलीले अनुबन्ध गर्न पाउँछ। तर अधिकतम १५ लाख रुपैयाँ तिर्न एकभन्दा बढी टोली तयार भएमा गोलाप्रथाबाट टुंगो लगाइनेछ। ए श्रेणीमा हालै राष्ट्रय टोलीमा फर्किएका अलराउण्डर मोहम्मद आदिल आलमसहित सुनाम गौतम, सूर्य तामाङ,शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद छन् ।
यस्तै, बी श्रेणीका खेलाडी अनुबन्ध गर्न ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ तोकिएको छ। सी श्रेणीका लागि न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख रुपैयाँ खर्च गर्न सक्नेछन्।
हरेक टिममा १२ जना नेपाली खेलाडी हुनुपर्नेछ। ८ वटा टोलीले पहिलो सिजनका ६ देखि ७ जना खेलाडीलाई नै निरन्तरता दिएका छन्। उनीहरूले जति खेलाडी रिलिज गरेका छन् त्यति नै संख्यामा अक्सनबाट अनुबन्ध गर्नु पर्नेछ।
तर, ‘ए क्याटेगोरीको खेलाडी रिलिज गरेको टिमले ए बाटै किन्नुपर्छ भन्ने बाध्यता छैन । उसले बी वा सी क्याटेगोरीको अनुबन्ध गर्न सक्छ। पहिलो सिजनमा जस्तो अहिले यही श्रेणीको खेलाडी लिनुपर्छ भन्ने नरहेको क्यानको भनाइ छ । यसअघि पहिलो एनपीएलमा भने कुन श्रेणीका कति खेलाडी लिन पाउने भन्ने नियम थियो। पहिलो एनपीएलमा ए र सी श्रेणीबाट ३/३ जना र बी श्रेणीबाट ४ जनाका दरले खेलाडी अनुबन्ध गर्नुपर्ने नियम थियो । त्यसअघि नै मार्की खेलाडी छनोट गरिएको थियो। अब टोलीले आफ्नो अवस्था अनुसार खेलाडी छनोट गर्न पाउनेछन्। अक्समा कुनै खेलाडी पहिला अनसोल्ड भएमा अन्तिममा फेरि मौका पाउनेछन् ।
अक्सनमा बजेटको दायमा भने तोकिएको छ । हरेक टोलीले १२ जना नेपाली खेलाडी अनुबन्ध गर्न ९० लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। अहिले मिनी अक्सनमा प्रत्येक टिमले रिटेन खेलाडीमा लागेको खर्च बाहेक बचेको रकममा सीमित भएर अक्सनमा भाग लिनेछन्। जस्तोकी यदि एउटा फ्रेञ्चाइज टोलीले खेलाडी रिटेन गर्दा ५० लाख रुपैयाँ खर्च गरिसकेको छ भने अब उसले ४० लाख भित्र रहेर बाँकी खेलाडी किन्न पाउने छ ।
योपटकको अक्सनमा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । उनीहरूका लागि फ्रेञ्चाइज टोलीहरूले साढे ३ करोड रुपैयाँको आसपासमा खर्च गर्दैछन्। त्यसमा सबैभन्दा बढी रकम चितवन राइनोजसँग ५८ लाख छ भने सबैभन्दा कम जनकपुर बोल्ट्ससँग ३३ लाख रुपैयाँ मात्र छ। ८ टोलीमध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडाैं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले ५,५ खेलाडी लिन पाउनेछन्। त्यस्तै, पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले ४, ४ खेलाडी किन्ने ठाउँ खाली छ।
दोस्रो संस्करणका लागि यसअघि आठ वटै टोलीले आआफ्ना रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् । फ्रेन्चाईजीका मार्की खेलाडीले भने यस सिजन पनि निरन्तरता पाएका छन् । एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । यस पटकको अक्सनले टोलीहरूलाई नयाँ प्रतिभा भित्र्याउन र आफ्नो सन्तुलन मिलाउन अवसर प्रदान गर्नेछ। एनपीएलले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
अक्सनमा रहेका खेलाडीहरुको सूची-



































प्रतिक्रिया