काठमाडौँ
यस अघिका २ खेलमा हार र २ खेलमा जित दर्ता गरेको नेपाली क्रिकेट टिमले आज हङकङसँग खेल्दैछ । एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने झिनो आशा सहित नेपाली क्रिकेट टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार अहिले बिहान ७ः१५ मा सुरु हुनेछ ।
नेपाललाई जितेर मात्र पुग्दैन ओमान र युएईबीचको नतिजा पनि आफू अनुकूल आउन जरुरी छ । ठीक त्यस्तै हङकङलाई पनि आफ्नो जित मात्र पर्याप्त हुँदैन । ओमानले युएईलाई हराइदिनुपर्छ । हङकङको हकमा ओमानले युएईलाई हराईदिए फाइनलमा स्थान बनाउनका लागि आफ्नो जित काफी हुन्छ । तर नेपाललाई त्यो सुविधा छैन । नेपाललाई रनरेटले पनि साथ दिनुपर्छ । त्यसैले नेपाल पुनः एक पटक भगवान भरोसाको स्थितिमा छ ।
४ खेलबाट ५ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने ७ अंकका साथ ओमान पहिलो स्थानमा छ । आयोजक मलेसिया र सिंगापुर प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा शीर्ष चार टोलीमध्ये जोकोहीले फाइनलमा स्थान बनाउन सक्छन् । कुनै पनि टोली ढुक्क हुने अवस्थामा छैनन् । त्यसैले सबै टोलीका लागि मंगलबार जितको विकल्प छैन ।
नागरिकबाट































प्रतिक्रिया