काठमाडौं । नेपाल अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।
डार्बिनको मरारा क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । नेपालको बलिङ र ब्याटिङ निकै आक्रामक देखिएको खेलमा पराजित हुन पुगेको हो ।
आजको निर्णायक खेलमा कप्तान रोहित पौडेलको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको शानदार अलराउन्ड प्रदर्शनका बाबजुद पनि अन्तिम बलमा रनआउटले नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ भने पाकिस्तान शाहीन्सले शीर्ष चारमा स्थान सुरक्षित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको महत्वपूर्ण पारी खेले भने दीपेन्द्र सिंह ऐरीले २१ बलमा २ चौका र १ छक्कासहित अविजित ४१ रन बनाए, तर अन्तिम बलमा रनआउट हुँदा खेल सुपर ओभरमा पुग्नबाट रोकियो ।
अझ खेलको अन्तिम ओभर अत्यन्त रोमाञ्चक रहेको थियो । नेपाललाई जितका लागि ८ रन आवश्यक थियो, र हातमा ५ विकेट नै बाँकी थियो । यस्तोमा पहिलो बलमा कुशल मल्लले १ रन लिएर दीपेन्द्रलाई स्ट्राइक दिए । दोस्रो बलमा दीपेन्द्रले उत्कृष्ट रनिङ गरेर ३ रन बटुले, जसले नेपाललाई जितको नजिक पु-यायो तर, तेस्रो बलमा कुशल मल्ल ठूलो सट खेल्ने प्रयासमा स्टम्प्ड आउट भए । चौथो बलमा आरिफ शेखले डट बल खेलेर नेपाली समर्थकलाई निराश बनाउँदा पाँचौं बलमा आरिफले २ रन लिन सक्थे, तर दीपेन्द्रलाई स्ट्राइक दिने चक्करमा १ रनमा रोकिए । अन्तिम बलमा दीपेन्द्रले रिभर्स स्वीपमा १ रन मात्र लिन सके, र दोस्रो रनका लागि दौडिँदा रनआउट भए । यदि यो दोस्रो रन पूरा भएको भए, खेल सुपर ओभरमा पुग्ने थियो ।
त्यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएकाे थियाे । पाकिस्तानका कप्तान इरफान खान ४२ रनमा नटआउट रहे भने अब्दुल समदले २५ बलमा २६ रनको योगदान दिए, जसमा १ चौका र १ छक्का समावेश थियो । मोहम्मद वसिमले २४ रन बनाउँदा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड भए । ओपनर यासिर खानले १८ रन जोड्दा, मेहरन मुमताजले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर पुर्याउन सकेनन् ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादव तथा दिपेन्द्र सिंह ऐरिले समान २ विकेट हात पारे । कुशल भुर्तेलले १ विकेट लिए ।
टप एन्ड टी–२० सिरिजमा नेपालले कुल ६ खेल खेल्यो, जसमा २ जित र ४ खेलमा हार व्यहोर्यो । यो सिरिज नेपालले आगामी आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि खेलेको थियो । अब नेपालको ध्यान अष्ट्रेलियामा हुने अभ्यास खेल र टी–२० विश्वकप छनोटमा केन्द्रित हुनेछ ।





























प्रतिक्रिया