महिला लिग फुटबल : आर्मीद्वारा चन्द्रपुरमाथि १०–० को फराकिलो जीत

महिला लिग फुटबल : आर्मीद्वारा चन्द्रपुरमाथि १०–० को फराकिलो जीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शर्मिला थापा र रश्मी गुरुङले चार/चार गोल गर्दा राजधानीमा जारी महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्द्रपुर नगरपालिका रौतहटमाथि रवाफिलो जीत निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जीत निकालेको हो । आर्मीले तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट खाता खोलेको थियो । १५ औं मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् ।

मोफसलको टोली चन्द्रपुरमाथि हावी भएको आर्मीका लागि शर्मिलाले ३५ औं मिनेटमा गोल थप्दै अग्रता तेब्बर पारिन् । एक तर्फी जस्तो देखिएको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सपना लामाले गोल गर्दा आर्मीले पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो ।

फराकिलो अग्रता बनाइसकेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सक्यो । ५१ औं मिनेटमा शर्मिलाले ह्याट्रिक गर्दा रश्मिले टोलीका लागि ५९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन् । त्यसको तीन मिनेटपछि रश्मिले व्यक्तिगत दोस्रो गोल थप्दा ६४ औं मिनेटमा शर्मिलाले चन्द्रपुर विरुद्ध एक्लैले चार पुर्याइन् । त्यसपछि ६६ औं मिनेटमा रश्मीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

८४ औं मिनेटमा थप गोल गर्दा रश्मिको व्यक्तिगत गोल संख्या चार पुग्यो । बाँकी समयमा थप गोल हुन सकेन र आर्मीले रवाफिलो जीत निकाल्न सफल भयो । फराकिलो जीत निकालेको आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलबाट ७ अंक जोड्दा पराजित चन्द्रपुरले समान ४ खेलबाट ३ अंक जोडेको छ ।

प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल विराटनगर महानगरपालिका मोरङ र चौदण्डीगढी नगरपालिका उदयपुर तथा दोस्रो खेल वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Logo