यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित

यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा युएई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै समेटियो । यूएईको इनिङ्सलाई अन्तिम बलसम्म रोमाञ्चक बनाउनका लागि अलिशान शरफुले उत्कृष्ट प्रदर्शन गरे। उनले ४० बलमा ३ चौका र ५ छक्कासहित ५८ रनको अर्धशतकीय पारी खेले। यस्तै, ध्रुव पराशरले १८ बलमा ३ छक्कासहित आक्रामक ३२ रन जोड्दै जितको आशा कायमै राखेका थिए। तर, मध्यक्रममा लगातार विकेट गुमाएपछि यूएई लक्ष्यबाट १ रनले पछि पर्न पुग्यो।

नेपालको जितमा बलमा चम्किएका दीपेन्द्र सिंह ऐरी निर्णायक बने। उनले महत्वपूर्ण तीन विकेट लिनुका साथै २ रन-आउटमा समेत संलग्न भए। उनले अलिशान शरफु र जोनाथन फिगी जस्ता सेट ब्याट्सम्यानहरूको विकेट लिएर यूएईलाई कमजाेर बनाएका थिए ।

यसबाहेक, नेपालको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङले अन्तिम ओभरहरूमा यूएईलाई दबाबमा राख्यो। सन्दीप लामिछाने, गुलसन झा र सोमपाल कामीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन जोडेको थियाे । नेपालको इनिङ्समा ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पूरा गरे । उनले ४७ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५१ रन जोडे।

मध्यक्रममा कप्तान रोहित पौडेल र सुरुवाती ब्याटर कुशल भुर्तेलले पनि महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेलले २६ बलमा २८ रन बनाउँदा रोहित पौडेलले १९ बलमा २० रनको पारी खेले।

Skip This
Skip This
Logo