काठमाडाैं । फिफा विश्वकप २०२६ को युरोपेली छनोटमा पोर्चुगलले आर्मेनियालाई ९-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
कप्तान क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेताको रूपमा विश्वकपको टिकट काट्न सफल भएकाे हाे । पोर्चुगलको ऐतिहासिक जितमा दुई युवा खेलाडी ब्रुनो फर्नान्डेस र जोआओ नेभेसले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे।
नेभेसले खेलको ३० औं, ४१ औं र ८१ औं मिनेटमा गोल गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे। उनको ४१ औं मिनेटको लामो दूरीको फ्रि-किक गोल विशेष आकर्षक थियो। साथै ब्रुनोले ४५+३ औं, ५१ औं र ७२ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे।
त्यसअघि पोर्चुगलका लागि रेनाटो भेइगाले सुरुवाती गाेल गरेका थिए । तर आर्मेनियाका लागि एडुआर्ड स्पर्ट्सयानले १८ औं मिनेटमा गरेका थिए, जसले सुरुमा खेललाई १-१ को बराबरीमा ल्याएका थिए। त्यसपछि पोर्चुगलले लगातार गोल गर्दै आर्मेनियालाई खेलमा फर्किने कुनै मौका दिएन। गोन्जालो रामोसले २८ औं मिनेटमा गाेल गरेका थिए ।
यो जितसँगै पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै सीधा रूपमा विश्वकप २०२६ का लागि छनोट भएको छ। यसअघिको खेलमा आयरल्यान्डसँग २-० ले पराजित भएपछि पोर्चुगललाई विश्वकपमा स्थान पक्का गर्न यो जित अनिवार्य थियो। रोनाल्डोले अघिल्लो खेलमा रातो कार्ड पाएका कारण उनी यस निर्णायक खेलमा अनुपस्थित थिए ।
समूहको अर्को रोमाञ्चक खेलमा हंगेरीलाई ३-२ ले पराजित गर्दै आयरल्यान्ड समूहमा दोस्रो स्थानमा रह्यो र प्लेअफमा प्रवेश गरेको छ।































प्रतिक्रिया