काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । यो सिजनलाई थप जीवन्त र वैश्विक स्तरको बनाउन क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले अन्तर्राष्ट्रिय स्तरका कमेन्टेटर र प्रस्तोताहरूको बलियो प्यानल तयार पारेको छ ।
विशेषगरी एन्ड्रयू लियोनार्ड जसलाई नेपाली क्रिकेटप्रेमीहरुले ‘तक्लु दाइ’ भनेर चिन्छन् । आकाश चोपडा, एचडी एकरम्यान, मिखाईल वासवानी, फजल खलील र जेस क्रो जस्ता चर्चित व्यक्तित्वहरूको उपस्थितिले एनपीएलको कमेन्ट्रीलाई तिखो, सटिक र रोचक बनाउने अपेक्षा गरिएको छ ।
एनपीएलको यो सिजन आज मंसिर १ देखि २७ गतेसम्म टियू क्रिकेट ग्राउण्ड चल्नेछ । यस प्रतियोगितमा ८ टिमहरू जनकपुर बोल्टर्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, चितवन राइनोज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज र कर्णाली याक्सले एकअर्काविरुद्ध ट्रफी हन्टका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो सिजनको अपार सफलतापछि यो वर्ष थप अन्तर्राष्ट्रिय खेलाडी र प्रसारण सुविधाहरू पनि थपिएका छन् । तर, लिगको मुख्य आकर्षण भने कमेन्ट्री प्यानल नै हो, जसले दर्शकहरूलाई मैदानभित्र र बाहिरको विश्लेषणबाट मोहित पार्नेछ ।
एन्ड्रयू लियोनार्ड
नेपाली क्रिकेटका प्रिय कमेन्टेटरका रुपमा परिचित एन्ड्रयू लियोनार्ड, आयरल्याण्डका क्रिकेट कमेन्टेटर, प्रस्तोता र डिजिटल क्रिएटर हुन् । उनलाई नेपाली फ्यानहरूले ‘तक्लु दाइ’ भनेर पनि चिन्ने र माया गर्ने गर्छन् । किनकी यो नाम नेपाली दर्शकहरूले नै माया गरेर उनलाई दिएका हुन् ।
पूर्वआईसीसी डिजिटल म्यान र क्रिकेट आयरल्याण्डका मार्केटिङ विशेषज्ञ रहिसकेका एन्ड्रयूले नेपालको क्रिकेटलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्दै आएका छन् । उनले आईसीसी यू–१९ विश्वकप, नेपालको घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलहरूमा नियमित कमेन्ट्री गर्दै आएका छन् । एनपीएलको दोस्रो सिजनका लागि नेपाल आइसकेका एन्ड्रयूले नेपाललाई आफ्नो दोस्रो घर भन्ने गरेका छन् । उनको ऊर्जावान शैली र नेपाली खेलाडीहरूबारे गहिरो ज्ञान भएकै कारणले कमेन्ट्रीलाई स्थानीय स्वाद दिने गर्छन । नेपाली फ्यानहरूका लागि उनी कमेन्टेटर मात्र होइनन्, क्रिकेटको प्रवद्र्धक पनि हुन् ।
आकाश चोपडा
भारतीय पूर्व क्रिकेटर आकाश चोपडा क्रिकेट कमेन्ट्रीका लागि संसारकै एक चर्चित नाम हो । भारतका लागि १० टेस्ट खेल खेलेका चोपडा अहिले स्टार स्पोट्र्स, ईएसपीएनक्रिकइन्फो र आफ्नो युट्युब च्यानलमार्फत लाखौं दर्शकहरूसँग जोडिएका छन् । उनको कमेन्ट्री शैली तिखो विश्लेषण, रूपकहरू र खेलको गहिरो समझले भरिएका हुन्छन् । उनी आईपीएल, विश्वकप जस्ता ठूला प्रतियोगितामा नियमित कमेन्ट्री गर्दै आएका छन् । यस्तोमा एनपीएलमा आकाशको आगमनलाई नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि मानिएको छ । उनी हिंदी कमेन्ट्रीका लागि प्रख्यात छन्, जसले नेपाली र भारतीय दर्शकहरूलाई थप आकर्षित गर्नेछ ।
एचडी एकरम्यान
दक्षिण अफ्रिकी अनुभवको खजाना हिल्टन डियोन एकरम्यान दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर हुन् । उनले आफ्नो कार्यकालमा ४ टेस्ट र १३ एकदिवसीय खेल खेलेका थिए । अहिले उनी कमेन्टेटर, कोच र स्पोट्र्स डाइरेक्टरका रूपमा सक्रिय छन् । आईपीएल, बीपीएल र लंका प्रिमियर लिग जस्ता प्रतियोगितामा कमेन्ट्री गरिसकेका एकरम्यानको शैली शान्त तर गहन विश्लेषणपूर्ण हुने गर्छ । उनी हालै ग्लोबल क्रिकेट लिग यूएसएमा पनि जोडिएका थिए । एनपीएलमा उनको भूमिका खेलको टेक्निकल पक्षलाई उजागर गर्नु हुनेछ ।
मिखाईल वासवानी
मिखाईल वासवानी भारतीय कमेन्टेटर र टीभी एंकर हुन् । उनले बीसीसीआई, आईसीसी र एसीसीका खेलहरूमा कमेन्ट्री गरेका छन् । उनी क्रिकफिट एकेडेमीका संस्थापक पनि हुन् र खेलकुद मिडियामा मात्र १७ वर्षको अनुभव बोकेका छन् । वासवानी क्रिकेटलाई जीवनशैलीका रूपमा हेर्छन् र सोसल मिडियामा सक्रिय छन् । एनपीएलमा उनको ऊर्जावान शैलीले युवा दर्शकहरूलाई आकर्षित गर्नेछ ।
फजल खलील
फजल खलील क्षेत्रीय क्रिकेटका कमेन्टेटर हुन् । उनले कश्मीर प्रिमियर लिग (केपीएल) लगायतका प्रतियोगितामा कमेन्ट्री गरेका छन् । पाकिस्तानी क्रिकेटसँग नजिकबाट जोडिएका उनी टेप–बल क्रिकेटका खेलहरूमा पनि सक्रिय छन् । एनपीएलमा उनको भूमिका दक्षिण एसियाली क्रिकेटको तुलनात्मक विश्लेषण हुनेछ । उनको अनुभवले नेपाली खेलाडीहरूको बलिङ र ब्याटिङलाई तिखो टिप्पणी दिनेछ ।
जेस क्रो
अष्ट्रेलियन प्रस्तोता जेस क्रो एनपीएलको आधिकारिक प्रस्तोताका रूपमा जोडिएकी अर्को ठुलो नाम हो । क्रिकेट क्षेत्रमा डिजिटल होस्ट, कन्टेन्ट क्रिएटर र पोडकास्ट होस्टका रूपमा चर्चित उनी टी–१० लिग र द हन्ड्रेड जस्ता प्रतियोगितामा काम गरिसकेकी छिन् ।
सन् २०२४ मा मेरीलिबोन क्रिकेट क्लब (एमसीसी)ले उनलाई ‘यङ फिमेल ब्रोडकास्टर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको थियो । उनी ‘बियोन्ड द गेम’ पोडकास्टकी होस्ट पनि हुन् । एनपीएलमा जेसको आगमनले लिगलाई वैश्विक दर्शकसम्म पुर्याउनेछ । उनको ऊर्जावान शैली र सोसल मिडिया मार्केटिङ अनुभवले कमेन्ट्रीलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ ।
यी विश्वकै चर्चित ६ जना कमेन्टेटरहरुको प्यानलले यस संस्करणको एनपीएललाई खेलका रुपमा मात्र नभई एक मनोरञ्जनात्मक उत्सव नै बनाउने पक्का जस्तै छ । एन्ड्रयूको स्थानीय माया, आकाशको तिखो विश्लेषण, एकरम्यानको अनुभव, वासवानीको बहुमुखीता, खलीलको क्षेत्रीय ज्ञान र जेसको ऊर्जाले लिगलाई थप रोचक बनाउनेछ ।































प्रतिक्रिया