सविन रेग्मी, पोखरा । मोफसलकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २५ औँ आहा! रारा पोखरा गोल्डकप आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको र तयारी तीव्र पारिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
यो संस्करणको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि. (आहा! रारा चाउचाउ) रहेको छ भने सह–प्रायोजकहरूमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की जिल्ला रहेका छन्। प्रतियोगितामा नेपालका शीर्ष ए डिभिजन क्लबहरू, आयोजक सहारा क्लब र एक वा दुई अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले यो वर्षको गोल्डकपलाई अझ भव्य र रोमाञ्चक बनाउन सबैको सहयोग अपेक्षा गरेको बताए । पुरस्कार राशि र सहभागी टोलीहरूको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने उनले उल्लेख गरे। अघिल्ला संस्करणहरूमा जस्तै विजेता टोलीले नगद १० लाख एक हजार, ट्रफी र मेडलसहित पुरस्कार प्राप्त गर्ने परम्परा कायम रहने जनाइएको छ ।
सहारा क्लबले तिहारको अवसरमा आयोजना गरेको च्यारिटी डिनर नाइटबाट संकलित २५ लाखभन्दा बढी रकम पनि यो प्रतियोगिताको तयारीमा खर्च गरिने छ । क्लबले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउने उद्देश्यले यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ।































प्रतिक्रिया