काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को ओटीटी प्रसारण अधिकार डिसहोमले पाएको भन्दै नेपाल क्रिकेट संघ र डिसहोमले अनधिकृत रूपमा आएका लिंकबाट एनपीएल नहेर्न आग्रह गरेका छन् ।
एनपीएलको डिजिटल ओटीटी प्रसारण अधिकार डिसहोमले प्राप्त गरेको पुनः जानकारी गराउँदै दुवै संस्थाले आधिकारिक माध्यमबाहेक अन्य कुनै पनि वेवसाइट वा एपमार्फत खेलको प्रत्यक्ष प्रसारण नगर्न र नहेर्न चेतावनीपूर्ण सूचना जारी गरेका हुन् ।
आधिकारिक अनुमति बेगर खेलको प्रसारण, रेकर्डिङ, सम्पादन वा सामाजिक सञ्जालमा क्लिपहरू राख्ने कार्यलाई गैरकानुनी ठहर गर्दै त्यस्तो गतिविधिमा संलग्न जो कोहीलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गत कारबाही गरिने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा अनधिकृत लिङ्कहरूमार्फत खेल हेर्दा दर्शकहरू साइबर अपराधको सिकार हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरिएको छ । ‘अनधिकृत साइट वा एपहरूमा क्लिक गर्दा प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय विवरणहरू चोरी हुने फिसिङ र ह्याकिङ उच्च जोखिम रहन्छ,’ विज्ञप्तिमा भनिएको छ । तसर्थ, दर्शकहरूको डिजिटल सुरक्षाका लागि पनि आधिकारिक एपको मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।
क्यान र डिसहोमले कतै अनधिकृत रूपमा खेल प्रसारण भइरहेको भेटिएमा तत्काल जानकारी गराउन सरोकारवाला तथा क्रिकेट प्रेमीहरूमा अपिल गरेका छन् । विज्ञप्तिमा एनपीएलका खेलहरू डिसहोमको ‘डिसहोम गो’ एपमार्फत मात्र आधिकारिक रूपमा हेर्न सकिने स्पष्ट पारिएको छ ।
कूल ३२ मध्ये १० खेल भइसकेका छन् ।





























प्रतिक्रिया