काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बागमती डर्बीमा काठमाडौं गोर्खाजले चितवन राइनोजमाथि सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौंसँग चितवन ५३ रनले स्तब्ध भएको हो ।
यो जितसँगै काठमाडौंले प्लेअफ यात्रा जिवितै राखेको छ । पाँच खेलमा यो काठमाडौंको तेस्रो जित हो। काठमाडौंले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो। चौथो खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो।
यता चितवन भने आफ्ना चार खेलमध्ये दुई खेलमा पराजित भएको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा उसले विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। तर विराटनगरमाथि अप्रत्यासित जित निकालेको चितवनले आज भने जादू देखाउन सकेन ।
जितका लागि १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा अलआउट हुँदै केवल ८९ रनमा समेटियाे । लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजको ब्याटिङ लाइनअप पूर्ण रूपमा ध्वस्त भयो। ओपनर दीपक बोहरा शून्यमा आउट हुँदा डेभिड मलान ७ रनमा सस्तैमा आउट भएपछि सुरु भएको विकेट पतनको सिलसिला अन्तिमसम्म जारी रह्यो।
देव खनाल र रवि बोपाराले मात्र २१-२१ रन बनाएर केही संघर्ष गरे पनि त्यो टोलीलाई ठूलो स्कोरतर्फ लैजान पर्याप्त भएन। अनुभवी विदेशी खेलाडी डेभिड मलान र कप्तान कुशल मल्लले क्रमशः ७ र ६ रन मात्र जोड्न सके।
सोहेल तनवीरले १८ रन बनाए पनि उनी लामो समय टिक्न सकेनन्।
विपक्षी टोलीका बलर राशिद खानले मात्र १.२ ओभर बलिङ गर्दै ३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए, जसले चितवनको तल्लो क्रमलाई तहसनहस बनायो। कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले पनि उत्कृष्ट प्रदर्शन गर्दै समान २-२ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएकाे काठमाडौं १९.४ ओभरमा अलआउट हुँदै १४२ रनमा समेटिएकाे थियाे । गोर्खाजको इनिङ्सलाई मध्यम स्कोरसम्म पुर्याउन विकेटकिपर-ब्याट्सम्यान जोन सिम्प्सनले विस्फोटक ब्याटिङ गरे। उनले मात्र २९ बलको सामना गर्दै ६० रनको आकर्षक अर्धशतक बनाए। उनको याे पारीमा ८ चौका र ५ छक्का समावेश थियो । सिम्प्सन बाहेक मिलिन्द कुमारले केही समय क्रिजमा बिताए र ४३ बलमा ३८ रन जोडे । यी दुई बाहेक अन्य ब्याट्सम्यानहरूले ठूलो योगदान दिन सकेनन्।
चितवन राइनोजका बलरहरूले कसिलो प्रदर्शन गरे । खासगरी पाकिस्तानी तिब्र गतिका बलर सोहेल तनवीर निकै हावी भए । उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र २५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए।
यस बाहेक, रञ्जित कुमार र कमल ऐरीले समान २ विकेट लिए भने रवि बोपाराले १ विकेट हात पारेका थिए ।





























प्रतिक्रिया