काठमाडौं । लुम्बिनी लायन्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
१५१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य सफलतापूर्वक पूरा गर्यो ।
लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० रनको योगदान दिए। उनलाई विकेटकिपर निरोशन डिकवेलाले आक्रामक शैलीमा २२ बलमा ३७ रन जोडेर बलियो साथ दिएका थिए। सुरुवाती विकेटहरू सस्तैमा गुमे पनि डिकवेलाको तीव्र गति र रोहितको संयमित प्रदर्शनले टोलीलाई जितको आधार बनाइदियो। मध्यक्रममा सन्दीप जोराले २५ तथा गुल्बदिन नैबले ११ बलमा १७ रन जोडेर टिमलाई जित नजिक पुर्याएका थिए।
त्यसअघि लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन जोडेको थियाे ।
पोखरा एभेन्जर्सको इनिङ्समा विदेशी खेलाडी एडम रोसिङ्टन र जिमी नीशमले शानदार अर्धशतकीय पारी खेले। एडम रोसिङटनले टोलीका लागि सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलको सामना गर्दै ७ चौका र ५ छक्का प्रहार गरे।
अन्तिमतिर तीव्र गतिमा रन जोडेका नीशम ५१ रनमा अविजित रहे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। पोखराले आफ्नो इनिङ्सको सुरुवातमा लगातार विकेट गुमाए पनि रोसिङटन र नीशमले पारी सम्हाल्दै टोलीलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याएका हुन् ।
ओपनर दिनेश खरेल ७ रन बनाएर आउट भए भने कप्तान कुशल भुर्तेलले खाता खोल्न सकेनन्।
लुम्बिनी लायन्सका बलरहरूले कसिलो प्रदर्शन गरे तापनि अन्तिम ओभरहरूमा रोसिङटन र नीशमले आक्रामक ब्याटिङ गरेपछि रनको गति बढेको थियो। लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले उत्कृष्ट बलिङ गर्दै २/२ विकेट लिए। गुल्बादिन नायबले ४ ओभरमा २० रन दिएर १ विकेट लिएका थिए ।
लुम्बिनीको यो पाँचौं खेलमा दोस्रो जित हो । लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। त्यसपछि भने लगातार हार व्यहोर्यो । दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलदमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो।
तर आजको जितले लुम्बिनीको प्लेअफ सम्भावना जिवितै राखेको छ । गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ।
यता पोखरा एभेन्जर्सले भने चौथो खेलमा तेस्रो हार व्यहोरेको छ। पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रन र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा भने जनकपुर बोल्ट्सलाई २५ रनले हराएको थियो । योसँगै पोखराको पनि प्लेअफ यात्रा कठिन बन्दै गएको छ।
अंक तालिकामा लुम्बिनी पाँचौं स्थानमा उक्लिएको छ भने पोखरा सातौं स्थानमा झरेको छ । सुदर पश्चिम लिगमा एक मात्र अपराजित टिम हो। चार खेल जितेर ८ अंक सहित शीर्षस्थानमा रहेको छ।





























प्रतिक्रिया