काठमाडौं । सञ्जय कृष्णमूर्तिको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्ससमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको हो ।
जनकपुरको सुरुवात निकै खराब रह्यो। मात्र ३५ रन जोड्दा टोलीले महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो। ओपनर आसिफ शेख शून्य र मयान यादव ६ रनमै आउट भए। यद्यपि, मध्यक्रमका ब्याट्सम्यान संजय कृष्णमूर्ति र विदेशी खेलाडी जान निकोल लोफ्टी-ईटन ले टोलीको इनिङ्ग्स सम्हाले।
संजय कृष्णमूर्तिले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। उनी टोलीको स्कोर १२९ रन हुँदा पाँचौं विकेटको रूपमा आउट भए।
लोफ्टी-ईटनले ३३ बलमा २ चौका र २ छक्काको मद्दतले ३९ रनको योगदान दिए।
पुछारतिर कप्तान वेन पार्नेलले १२ बलमा १४ रन बनाएर आउट भए । त्यसअघि ओपनर माज सदाकतले १२ रन र आदित्य महताले १५ रन बनाएका थिए ।
जनकपुरलाई ठूलो स्कोर बनाउनबाट रोक्न सुदूर पश्चिम रोयल्सका बलरहरू सफल रहे। टोलीका लागि स्कट कुगेलेइन र अविनाश बोहराले उत्कृष्ट प्रदर्शन गरे। अविनाश बोहराले ३० रन दिएर ४ महत्वपूर्ण विकेट हात पारे। साथै न्यूजिल्याण्डका बलर स्कट कुगेलेइनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए।
कप्तान दीपेन्द्र सिंह ऐरी ले १ विकेट लिए।
जारी लिगमा अपराजित रहेको सुदूरपश्चिम रोयल्सको लागि यो लक्ष्य खासै चुनौतीपूर्ण नभए पनि जनकपुर बोल्ट्स पहिलो जितको खोजीमा बलियो प्रदर्शन गर्न आतुर देखिन्छ।































प्रतिक्रिया