जनकपुरलाई हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको एनपीएलको प्लेअफमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको एनपीएलको प्लेअफमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ यात्रा पक्का गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्समाथि ६ विकेटको जित दर्ता गरेको हो । योसँगै सुदुरपश्चिम लगातार पाँचौ जित निकालेर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ ।

साविक विजेता जनकपुर भने लगातार चार खेलमा पराजित हुँदै लिग चरणबाटै बाहिरिएको छ।

१४६ रनको लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले १७.४ ओभरमा मात्र ४ विकेट गुमाएर १४८ रन बनाएकाे हाे । सुदूरपश्चिमको सुरुवात भने कमजोर रह्यो। ओपनर जोश ब्राउन शून्यमा आउट भएपछि र क्रिस लिन मात्र १ रनमा पेभेलियन फर्केपछि टोलीले एक रनमै २ विकेट गुमाएको थियो।

तर, त्यसपछि क्रिजमा आएका इशान पाण्डे र विनोद भण्डारीले टोलीको इनिङ्स सम्हाले । इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै मात्र ३५ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५६ रन बनाए। विनोद भण्डारीले एक छेउबाट क्रिजमा टिक्दै ४९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रनको महत्वपूर्ण योगदान दिए।

इशान पाण्डे आउट भएपछि क्रिजमा आएका हरमीत सिंहले विस्फोटक इनिङ्स खेले। उनले मात्र १० बलमा १ चौका र ३ छक्काको सहायताले अविजित २५ रन जोड्दै टोलीलाई निर्धारित समयभन्दा अगाडि नै जित दिलाए। कप्तान दीपेन्द्र सिंह ऐरी १० रनमा नटआउट रहे।

जनकपुरका लागि माज सदाकतले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने कृष्णमूर्ति र आदित्य महताले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको थियाे ।

जनकपुरको सुरुवात निकै खराब रह्यो। मात्र ३५ रन जोड्दा टोलीले महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो। ओपनर आसिफ शेख शून्य र मयान यादव ६ रनमै आउट भए। यद्यपि, मध्यक्रमका ब्याट्सम्यान संजय कृष्णमूर्ति र विदेशी खेलाडी जान निकोल लोफ्टी-ईटन ले टोलीको इनिङ्ग्स सम्हाले।

संजय कृष्णमूर्तिले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। उनी टोलीको स्कोर १२९ रन हुँदा पाँचौं विकेटको रूपमा आउट भए।

लोफ्टी-ईटनले ३३ बलमा २ चौका र २ छक्काको मद्दतले ३९ रनको योगदान दिए।
पुछारतिर कप्तान वेन पार्नेलले १२ बलमा १४ रन बनाएर आउट भए । त्यसअघि ओपनर माज सदाकतले १२ रन र आदित्य महताले १५ रन बनाएका थिए ।

जनकपुरलाई ठूलो स्कोर बनाउनबाट रोक्न सुदूर पश्चिम रोयल्सका बलरहरू सफल रहे। टोलीका लागि स्कट कुगेलेइन र अविनाश बोहराले उत्कृष्ट प्रदर्शन गरे। अविनाश बोहराले ३० रन दिएर ४ महत्वपूर्ण विकेट हात पारे। साथै न्यूजिल्याण्डका बलर स्कट कुगेलेइनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए।

कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।

Logo