एनपीएल: विराटनगरले लुम्बिनीलाई दियाे १४५ रनको लक्ष्य

एनपीएल: विराटनगरले लुम्बिनीलाई दियाे १४५ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२औँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा १ चौका र १ छक्कासहित २८ रन जोडे। शीर्ष क्रमका ब्याट्सम्यान साम हेजलेटले पनि २० बलमा २७ रनको योगदान दिए।

टिममा समावेश भएका दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसले भने १२ रन मात्रै बनाउन सके। जम्मा २ रन मात्र बनाउँदा २ विकेट गुमाएको विराटनगरको इनिङ्सलाई लोकेश बमले केही सम्हालेका थिए।

लुम्बिनी लायन्सका बलरहरूले विराटनगरका ब्याट्सम्यानलाई ठूलो साझेदारी गर्न दिएनन्। लुम्बिनीका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। यसैगरी, जेजे स्मिथ र रुबेन ट्रम्पेलम्यानले १/१ विकेट लिए।

प्लेअफको सम्भावना बलियो बनाउनका लागि लुम्बिनी लायन्सलाई यो खेल जित्नै पर्ने दबाब छ ।

Logo