एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित

एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम विराटनगर किंग्ससँग ६ विकेटको फराकिलो हारले स्तब्ध भएको हो ।

सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य विराटनगरले मात्र ११.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । विराटनगरको जितमा दक्षिण अफ्रिकाका अनुभवी ब्याटर फाफ डु प्लेसिस र अस्ट्रेलियाका साम हेजलेटको घातक ओपनिङ साझेदारी महत्वपूर्ण रह्यो ।

फाफ डुले मात्र २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाएर टिमलाई तेज सुरुवात दिलाएका थिए। साथै साम हेजलेटले पनि २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन जोडे। उनीहरुले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

यसैगरी मार्टिन गुप्टिलले ९ बलमा २२ रन जोडे ।

त्यसअघि टस जितेर विराटनगरले पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोडेको थियो ।

सुदूरपश्चिमको ब्याटिङ सुस्त सुरुवातपछि मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख र इशान पाण्डेले पारीलाई सम्हालेका थिए।आरिफ शेखले सर्वाधिक रन बनाए। उनले ३२ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ४५ रन जोडे। दोस्रो सर्वाधिक रन बनाउने क्रममा इशान पाण्डेले पनि महत्त्वपूर्ण योगदान दिए। उनले ३५ बलमा ३८ रन बनाए।

यसैगरी ओपनर जस ब्राउनले २५ बलमा २४ रन बनाएर राम्रो सुरुवात दिए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १९ रन जोडे ।

यता बिराटनगरका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २० रन खर्चँदै महत्त्वपूर्ण ३ विकेट हात पारे। उनको किफायती बलिङले रोयल्सलाई ठूलो योगफलतर्फ जानबाट रोकेको थियो।

लामिनछाने बाहेक, प्रतिश जिसीले २ तथा बसिर अहमदले पनि किफायती बलिङ गर्दै १ विकेट लिए। यद्यपि, मार्चेन्ट डे लान्गे भने महँगा साबित भए। उनले ३ ओभरमा ३३ रन खर्चिएका थिए।

यो हारसँगै सुदूरपश्चिम ७ खेलमा १२ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावतै छ । यता विराटनगर १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले क्वालिफायर खेल्ने पक्का भइसकेको छ।

Skip This
Skip This
Logo