काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर(२ मा पुगेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको हो ।
लुम्बिनीले अब फाइनल प्रवेशका लागि बिहीबार क्वालिफायर -२ मा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । यता एलिमिनेटर खेलमा पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
लुम्बिनी लायन्सको ब्याटिङमा अस्ट्रेलियन ओपनर डार्सी सर्टको योगदान निर्णायक रह्यो। सर्टले ३४ बलमा २ चौकासहित ३३ रन बनाए। उनी ११.६ ओभरमा ६७ रनको योगफलमा आउट भएका थिए ।
मध्यक्रममा सन्दीप जोराले २३ बलमा २३ रन तथा कप्तान रोहित पौडेलले १८ रन जोडेर जितको आधार तयार पारेका थिए। अन्त्यमा, विकेटकिपर निरोशन डिकेवालाले १४ रन बनाए।
लक्ष्य रक्षा गर्ने क्रममा काठमाडौं गोर्खाजका बलर सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई प्रतिस्पर्धामा फर्काउने प्रयास गरे। तर सानाे याेगफलका कारण सकेनन् । सन्तोष यादवले आफ्नो २ ओभरको स्पेलमा १७ रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिए। कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र राशिद खानले १-१ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
त्यसअघि टस जितेर ब्याटिङ राेजेकाे काठमाडौं १९.१ ओभरमा अलआउट हुँदै १११ रनमा समेटिएकाे थियाे । लुम्बिनीका बलरहरूले आज काठमाडौं गोर्खाजका ब्याट्सम्यानहरूलाई मैदानमा टिक्न दिएनन्। जन सिम्पसनले १८ रन र मोहम्मद आदिल आलमले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। आलमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै केही आक्रामक इनिङ्स खेले पनि त्यो टिमलाई ठूलो राहत दिन पर्याप्त भएन।
लुम्बिनी लायन्सका बलरहरूले सामूहिक प्रदर्शन गर्दै काठमाडौंलाई सस्तैमा समेट्न सफल भए । विशेषगरी, शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे।
शेर मल्लले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यसैगरी रोहित पौडेलले पनि ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। यता रुबेन ट्रम्पेलम्यानले एक मेडनसहित २ महत्त्वपूर्ण विकेट लिए।





























प्रतिक्रिया