काठमाडाैं । विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन बीचको ‘फाइनलिसिमा’ खेलको मिति र स्थान तय भएको छ। आगामी वर्ष २०२६ मार्च २७मा कतारको चर्चित लुसेल रंगशालामा हुने यस खेलमा फुटबल आइकन लियोनल मेसी र बार्सिलोनाका युवा स्टार ल्यामिन यमल पहिलो पटक आमने-सामने हुनेछन्।
युरोपेली च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिना बीचको यो भिडन्तलाई सन् २०२६ को विश्वकप अघिको सबैभन्दा ठूलो ‘अग्निपरीक्षा’को रूपमा हेरिएको छ। विशेष गरी ३८ वर्षीय मेसी र १८ वर्षीय यमल बीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल प्रेमीहरू आतुर छन्। यमललाई वर्तमान समयमा मेसीको उत्तराधिकारीको रूपमा समेत हेरिने गरिन्छ।
सुरुमा सन् २०२५ मा आयोजना गर्ने भनिए तापनि व्यस्त खेल तालिकाका कारण यसलाई सन् २०२६ मार्चका लागि सारिएको हो।
फाइनलिसिमाको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल टोली हो। यसअघि सन् २०२२ मा लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३–० ले पराजित गर्दै उपाधि जितेको थियो। उक्त खेलमा मेसीले दुईवटा ‘असिस्ट’ गरेका थिए।
स्पेन र अर्जेन्टिनाबीच हालसम्म कूल १४ पटक प्रतिस्पर्धा भएको छ, जसमा दुवै देशले समान ६–६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन्। यी दुई टोली बीचको पछिल्लो भेट सन् २०१८ मा भएको थियो, जहाँ स्पेनले ६–१ को भारी अन्तरले जित निकालेको थियो।





























प्रतिक्रिया