काठमाडाैं । मोरक्कोले अरब कपको उपाधि चुमेको छ।
दोहास्थित लुसेल रंगशालामा गएराति भएकाे रोमान्चक फाइनल खेलमा जोर्डनलाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरक्कोले दोस्रो पटक यो उपाधि आफ्नो नाममा गरेको हो। खेलको चौथो मिनेटमै ओसामा तन्नानेले झण्डै ‘हाफ-वे’ लाइनबाट गोल गर्दै मोरक्कोलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
दोस्रो हाफमा जोर्डनले उत्कृष्ट पुनरागमन गर्यो। ४८ औं र ६८ औं मिनेटमा गोल गर्दै जोर्डनले २-१ को अग्रता बनायो।
तर खेल सकिन २ मिनेट बाँकी रहँदा अब्देराजाक हम्दल्लाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए। अतिरिक्त समयको १०० औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे।
यस प्रतियोगितामा मोरक्कोले आफ्नो मुख्य ‘ए’ टोली नउतारे पनि उत्कृष्ट प्रतिभा प्रदर्शन गर्यो। समूह चरणमा कोमोरोस र साउदी अरबलाई हराएको मोरक्कोले नकआउट चरणमा सिरिया र युएईलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो।































प्रतिक्रिया