काठमाडाैं । अष्ट्रेलियाका दिग्गज ब्याटर स्टिभ स्मिथले जारी एसेज सिरिजमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। मंगलबार सिड्नी क्रिकेट ग्राउण्डमा इङ्गल्याण्डविरुद्ध सानदार शतक प्रहार गर्दै ३६ वर्षीय स्मिथ एसेज इतिहासमा सर्वाधिक रन बनाउने र सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन्।
यस क्रममा उनले इङ्गल्याण्डका लिजेन्ड ज्याक हब्सलाई पछि पारेका छन्। अब उनीभन्दा अगाडि अष्ट्रेलियाकै क्रिकेट आइकन सर डन ब्रेडम्यान मात्र रहेका छन्।
स्मिथले ज्याक हब्सको ३,६३६ रनको कीर्तिमानलाई उछिनेर एसेजमा दोस्रो धेरै रन बनाउने खेलाडी बनेका छन्। यो उनको एसेज इतिहासकै १३औँ शतक हो। यस सूचीमा पनि उनी ब्रेडम्यान (१९ शतक) पछि दोस्रो स्थानमा छन्।
समग्रमा यो स्मिथको १८औँ टेस्ट शतक हो ।
जारी खेलमा अष्ट्रेलियाका ट्राभिस हेडले १६३ रनको आक्रामक इनिङ्स खेलेर टोलीलाई बलियो आधार दिएका थिए। त्यसपछि स्मिथले क्यामरुन ग्रीनसँग मिलेर अष्ट्रेलियालाई इङ्गल्याण्डको योगफलभन्दा अगाडि पुर्याए। स्मिथको यो शतकले अष्ट्रेलियालाई पहिलो इनिङ्समा महत्वपूर्ण अग्रता दिलाउन मद्दत गरेको छ।
स्मिथले सन् २०१० मा पर्थबाट एसेज यात्रा सुरु गरेका थिए। उनले आफ्नो पहिलो एसेज शतक सन् २०१३ मा ओभलमा बनाएका थिए। विशेष गरी सन् २०१९ को एसेज सिरिजमा उनले ११०.५७ को औसतले ७७४ रन बनाउँदै अभूतपूर्व प्रदर्शन गरेका थिए।
अष्ट्रेलियाले सुरुवाती तीन टेस्ट जितेर सिरिज कब्जा गरिसकेको छ। यद्यपि, इङ्गल्याण्डले मेलबर्नमा भएको चौथो टेस्ट जित्दै १४ वर्षपछि अष्ट्रेलियाको भुमिमा विजय हासिल गरेको थियो। हाल जारी सिड्नी टेस्टमा स्मिथको शतकसँगै अष्ट्रेलिया पुनः हाबी भएको छ।































प्रतिक्रिया