प्रधान सेनापति खुला म्याराथन दौड माघ २४ गते हुने

प्रधान सेनापति खुला म्याराथन दौड माघ २४ गते हुने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। यस वर्षको प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता यही माघ २४ गते आयोजना हुने भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जनाइएको छ।

प्रतियोगिताअन्तर्गत ४२ दशमलव १९५ किलोमिटर दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष दुवै विधामा २१ किलोमिटर दूरीको हाफ म्याराथन आयोजना हुनेछ। म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिनेछ।

हाफ म्याराथनतर्फ महिला तथा पुरुष दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालयमा कार्यरत कर्मचारी, सेनाका अवकासप्राप्त तथा सेवारत सकलदर्जा, साथै गैरसैनिकतर्फ कक्षा १० देखि १२ सम्म अध्ययनरत सन्तानको सहभागितामा १० किलोमिटर दूरीको दौड प्रतियोगिता पनि आयोजना हुनेछ।

सोही दिन पाँच किलोमिटर दूरीको वाकाथन आयोजना गरिनेछ, जसमा प्रमुख अतिथि तथा आमन्त्रित उच्च पदस्थ व्यक्तिको सहभागिता रहनेछ। साथै सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्राको सहभागितामा पाँच किलोमिटर दूरीको दौड पनि सञ्चालन हुनेछ। दश किलोमिटर र पाँच किलोमिटर दौडतर्फ महिला तथा पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ।

विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष ११औँ संस्करणका रूपमा सञ्चालन हुन लागेको हो। प्रतियोगिताका पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहने आयोजकले जनाएको छ। यस वर्ष महाशिवरात्रि तथा सेना दिवस फागुन ३ गते परेको छ।

Skip This
Skip This
Logo