काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक तयारीका क्रममा भएको अभ्यास खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई २३ रनले पराजित गरेको छ। बिसिसीआई सेन्टर अफ एक्सीलेन्समा भएको उक्त प्रतिस्पर्धामा अफगानिस्तानले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।
जद्रान र गुरबाजको उत्कृष्ट ओपनिङ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान इब्राहिम जद्रानले ३४ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।
अर्का ओपनर रहमानुल्लाह गुरबाजले २८ बलमा ४३ रनको योगदान दिँदै आक्रामक सुरुवात दिलाए। मध्यक्रममा अजमतुल्लाह ओमरजाईले मात्र १५ बलमा ३५ रनको विष्फोटक इनिङ खेलेपछि अफगानिस्तान बलियो स्थितिमा पुगेको थियो।
वेस्ट इन्डिजका लागि बलिङतर्फ रोस्टन चेस र गुडाकेश मोटीले किफायती बलिङ गर्दै १-१ विकेट लिए पनि अन्य बलरहरू महँगो सावित भए।
वेस्ट इन्डिजको मध्यम जवाफ १८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डले २६ बलमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। कप्तान रोभम्यान पावेलले ३२ रन र जेसन होल्डरले अविजित २५ रन जोडे।
अफगानी स्पिनरको दबदबा अफगानिस्तानका बलरहरूले वेस्ट इन्डिजका ब्याट्सम्यानहरूलाई क्रिजमा खुलेर खेल्न दिएनन्। मुजीव उर रहमानले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए भने अलराउन्डर ओमरजाईले पनि २ विकेट हात पारे। भेट्रान स्पिनर मोहम्मद नाबीले अत्यन्तै कसिलो बलिङ गर्दै २ ओभरमा मात्र ७ रन खर्चेर १ विकेट लिए।





























प्रतिक्रिया